Tue. Dec 24th, 2024

कुशल भुर्तेलको शतकमा नामिबियामाथि नेपालक‍ो शानदार जित

भिओके समाचार/काठमाण्डू, २०७९ फागुन २ गते मंगलबार । आईसीसी विश्वकप क्रिकेट लिग टू अन्तर्गत त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजमा नेपाललाई ठूलो उपलब्धि प्राप्त भएको छ । प्रतिस्पर्धात्मक खेलमा नेपालले नामिबियालाई हराएर यो उपलब्धि हासिल गरेको हो ।

त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा आज भएको खेलमा नेपालले नामिबियालाई २ विकेटले हराएको हो । नेपालले एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा पहिलो पटक नामिबियालाई हराएको हो । नेपालले पाँचौं खेलमा नामिबियालाई हराएको हो । नामिबियाले दिएको २ सय ८५ रनको लक्ष्य नेपालले ४७ ओभर ४ बलमा ८ विकेट गुमाएर पूरा गरेको थियो ।

एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा नेपालले पूरा गरेको यो सबैभन्दा ठूलो लक्ष्य हो । यसअघि यूएईले दिएको २ सय ५४ रनको लक्ष्य नेपालले पूरा गरेको थियो । नेपालको जितमा कुशल भुर्तेलले कीर्तिमानी शतकीय इनिङ खेल्नुभयो । भुर्तेलले १ सय १३ बलमा १० चौका र ४ छक्काको सहयोगमा १ सय १५ रनको शतकीय इनिङ खेल्नुभयो । कुशलको यो एकदिवसीय अन्तर्राष्ट्रियमा पहिलो शतक हो ।

टी-ट्वान्टी अन्तर्राष्ट्रिय तथा एकदिवसीय अन्तर्राष्ट्रियमा शतक बनाउने भुर्तेल तेस्रो नेपाली खेलाडी बन्नुभएको छ । यसअघि पारस खड्का र दीपेन्द्र सिंह ऐरीले दुवैमा शतक प्रहार गर्नुभएको थियो । कुशल एकदिवसीय अन्तर्राष्ट्रियमा शतक बनाउने नेपालका पहिलो ओपनर बन्नुभएको छ । कप्तान रोहित पौडेलले ७६ बलमा ७२ रन बनाउनु भयो । रोहितले ७ चौका र ३ छक्का प्रहार गर्नुभयो ।

सन्दीप जोराले २४ बलमा २८ रन बनाउनुभयो । उहाँले ३ चौका र १ छक्का प्रहार गर्नुभयो । पूर्व कप्तान ज्ञानेन्द्र मल्लले ३५ बलमा २५ रन बनाउनु भयो । करण केसीले १२ बलमा २० रन बनाउनु भयो । सन्दीप लामिछाने गोल्डेन डग आउट हुनुभयो ।

नामिबियाका रुवेल ट्रम्पेलम्यान र जान निकोलले समान ३/३ विकेट लिनुभयो । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नामिबियाले अन्तिम बलमा अलआउट हुँदै  २ सय ८५ रन बनाएको थियो । नामिबियाका मिचेल भानले १ सय ३७ बलमा १ सय ३३ रनको शतकीय इनिङ खेल्नुभएको थियो । उहाँले ९ चौका र ५ छक्का प्रहार गर्नुभएको थियो ।

कप्तान ग्रेर्हाड इरास्मसले ७९ बलमा ५६ रनको अर्धशतकीय इनिङ खेल्नुभएको थियो । जान ग्रिनले ३४ रन बनाउनु भयो । नेपालका करण केसीले १० ओभरमा ६१ रन खर्चिएर ५ विकेट लिनुभयो । करणको यो एकदिवसीय अन्तर्राष्ट्रियमा तेस्रो ५ विकेट हो । एकदिवसीय अन्तर्राष्ट्रियमा तीन पाँच विकेट लिने करण पहिलो नेपाली खेलाडी बन्नुभएको छ ।

पूर्व कप्तान सन्दीप लामिछानेले ३ विकेट लिनुभयो ।  ६ महिनापछि मैदान फर्किनुभएका लामिछानेले १० ओभरमा ६६ रन खर्चिनुभएको थियो। सोमपाल कामी र कुशल मल्लले समान १/१ विकेट लिनुभयो । सिरिजमा नेपाल २५ खेलमा २० अंक जोडेर छैटौं स्थानमा रहेको छ । नामिबिया ३१ खेलमा ३७ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।

सिरिज अन्तर्गत नेपालले दोस्रो खेलमा स्कटल्याण्डसँग फागुन ५ गते खेल्नेछ । यस्तै नेपालले फागुन ६ मा नामिबियासँग दोस्रो खेल खेल्नेछ भने स्कटल्याण्डसँग फागुन ९ गते खेल्ने तालिका रहेको छ ।

Facebook Comments