Tue. May 14th, 2024

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री शाहद्वारा पद तथा गोपनीयताको सपथ

धनगढी, २०७९ माघ २७ गते शुक्रबार । सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री कमलबहादुर शाहले पद तथा गोपनीयताको सपथ लिनुभएको छ ।

प्रदेश प्रमुखको कार्यालयमा आज आयोजित समारोहमा प्रदेश प्रमुख देवराज जोशीले नवनियुक्त मुख्यमन्त्री शाहलाई पद तथा गोपनीयताको शपथग्रहण गराउनुभयो ।

उहाँलाई प्रदेश प्रमुख देवराज जोशीले बिहीबार साँझ मुख्यमन्त्रीमा नियुक्त गर्नु भएको थियो ।

तत्कालीन मुख्यमन्त्री राजेन्द्रसिंह रावलले विश्वासको मत गुमाई पदबाट राजीनामा दिएपछि संविधानको धारा १६८ को उपधारा(३) बमोजिम काँग्रेस संसदीय दलका नेता शाह मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो । नवनियुक्त मुख्यमन्त्री शाहले अव एक महिनाभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने हुन्छ ।

यसैगरी, आजै नवनियुक्त मन्त्री द्वय प्रकाशबहादुर देउवा र नरेश कुमार शाहीले पद तथा गोपनीयताको सपथ लिनुभएको छ ।

प्रदेश प्रमुख देवराज जोशीले नवनियुक्त भौतिक पूर्वाधार विकास मन्त्री प्रकाश बहादुर देउवा र आर्थिक मामिला मन्त्री नरेश कुमार शाहीलाई पद तथा गोपनीयताको शपथग्रहण गराउनुभयो । देउवा नेपाली काँग्रेस र शाही नेकपा एकीकृत समाजवादीबाट मन्त्रीमण्डलमा सहभागी हुनु भएको हो।

शपथग्रहण समारोहमा नेपाली काँग्रेसका प्रदेश सभापति एवं सांसद बीरबहादुर बलायर, निवर्तमान मुख्यमन्त्री राजेन्द्रसिंह रावल, पूर्व मुख्यमन्त्री त्रिलोचन भट्ट, उपसभामुख कोइली देवी चौधरी, प्रदेशसभा सदस्यहरु, उच्च सरकारी अधिकारी लगायतको सहभागिता रहेको थियो । रासस

Facebook Comments