Mon. Dec 23rd, 2024

भद्रपुर-सलकपुर सडक छ प्रतिशत कालोपत्र

झापा, २०७९ माघ १९ गते बिहीबार । झापाको भद्रपुरदेखि इलामको सलकपुरसम्म जोड्ने सडक डेढ वर्षमा तीन किलोमिटर मात्र कालोपत्र भएको छ । कनकाई मोती जेभी काठमाण्डुले २०७८ भदौमा दुई वर्षभित्र कालोपत्र गर्ने गरी ठेक्का सम्झौता गरेको थियो । हालसम्म तीन दशमलव छ किलोमिटर मात्र कालोपत्र गरिएको छ ।

पूर्वाधार विकास कार्यालय झापाका इन्जिनियर दीपेन्द्रकुमार साहका अनुसार प्रदेश नं १ सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयको रु २६ करोड ६९ लाख लागतमा भद्रपुर-सलकपुर सडक कालोपत्र गर्न थालिएको हो । “सडकको हालसम्मको वित्तीय प्रगति छ प्रतिशतमात्र भएको छ”, उहाँले भन्नुभयो । निन्दा पुलदेखि इँटाभट्टासम्म तथा इँटाभट्टा दोकानडाँडादेखि निन्दा सिरानसम्म सडक कालोपत्र गर्न लागिएको साहको भनाइ छ ।

सो सडक निर्माणपछि इलामको रोङ गाउँपालिकाका पर्यटकीयस्थल झण्डीडाँडा, कन्याम, सलकपुरलगायत क्षेत्र पुग्न सजिलो हुने छ । कृषिजन्य वस्तुको बजारीकरण गर्न किसानलाई सहज हुने छ । रासस

Facebook Comments