Thu. Apr 25th, 2024

जनवरीमा भित्रिए ५५ हजार पर्यटक   

फाईल फोटो

काठमाण्डु, २०७९ माघ १८ गते बधुबार । अङ्ग्रेजी वर्ष सन् २०२३ को जनवरी महिनामा ५५ हजार ७४ विदेशी पर्यटक नेपाल भित्रिएका छन् ।

नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्याङ्कअनुसार वर्षको पहिलो महिना हवाई मार्ग भएर ५५ हजार बढी विदेशी नागरिकले नेपाल भ्रमण गरेका हुन् । पर्यटक आगमन उत्साहवद्र्धक रहेको बोर्डका निर्देशक मणिराज लामिछानेले बताउनुभयो । उहाँले अफ सिजनमा पनि उल्लेख्य सङ्ख्यामा पर्यटक भित्रिनु सकारात्मक सुरुआत भएको उल्लेख गर्नुभयो ।

जनवरीमा भारतबाट १६ हजार चार यस ३६ पर्यटक आएका छन् । अमेरिकाबाट छ हजार पाँच सय ६१ पर्यटकले नेपाल भ्रमण गरेका छन् । त्यस्तै, अष्ट्रेलियाबाट तीन हजार चार सय ४१ र बङ्गलादेशबाट दुई हजार चार सय ६८ पर्यटक भित्रिएको बोर्डको विवरणमा उल्लेख छ ।

सन् २०२२ को जनवरीमा १६ हजार चार सय ३६ पर्यटक आएका थिए भने सन् २०२१ मा आठ हजार छ सय ७४ पर्यटकले नेपाल भ्रमण गरेका थिए । यो विवरण हेर्दा महामारीपछि जनवरी महिनामा हालसम्मकै उल्लेख्य पर्यटक आएको देखिन्छ ।

कोभिड-१९ महामारीका कारण घटेको विदेशी पर्यटकको सङ्ख्या सन् २०२२ मा भने केही बढेको थियो । उक्त वर्ष छ लाख १४ हजार एक सय ४८ विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए । महामारीपूर्व सन् २०१९ मा ११ लाख ९७ हजार ९१ पर्यटक नेपाल आएका थिए तर सन् २०२० मा कोरोना महामारीका कारण विदेशी पर्यटकको सङ्ख्या ८१ प्रतिशतले कमी आई २ लाख ३० हजार ८५ जना पर्यटक नेपाल भित्रिएका थिए ।

त्यसैगरी २०२१ मा भने एक लाख ५० हजार नौ सय ६२ पर्यटक नेपाल आएका थिए । जुन सन् २०२० को तुलनामा ३४ दशमलव चार प्रतिशतले कमी हो । रासस

Facebook Comments