Thu. May 2nd, 2024

बाजुरामा ५ दशमलब ९ रिक्टर स्केलको भूकम्प, एकजनाको मृत्यु

भिओके समाचार/काठमाण्डौं, २०७९ माघ १० गते मंगलबार । बाजुराको मेला भन्ने स्थानलाई केन्द्रबिन्दु बनाएर आज दिउँसो गएको भूकम्पमा परी एक जनाको ज्यान गएको छ ।

जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक किशोर ऐरीले भ्वाईस अफ काठमाण्डौंलाई दिनुभएको जानकारी अनुसार भूकम्पमा परी गहुँमुल गाउँपालिका वडा नं.२ जुरेली बस्ने वर्ष ३५ कि जमुना रोकायाको मृत्यु भएको छ । प्रहरी निरीक्षक ऐरीका अनुसार भूकम्पका कारण जिल्लाका विभिन्न स्थानमा झण्डै २९ वटा घरहरु चर्किएका छन् भने केही घर भत्किएका छन् ।

भूकम्पका कारण बडिमालिका नगरपालिका वडा नंं. ७ मा एउटा र वडा नं.९ मा २ वटा घर भत्किएका छन् । यसैगरी वडा नम्बर ६ मा एउटा विद्यालय भवन र दुई वटा घर भत्किएको खबर प्राप्त भएको प्रहरीले जनाएको छ । जिल्लाका विभिन्न स्थानमा हिमपात भएको र हिमपातकै समयमा भूकम्प जाँदा जनजीवन कष्टकर भएको जनाइएको छ । भूकम्पपछि टेलिफोनको नेटवर्कमा समस्या देखिएपछि विवरण संकलनमा समस्या भएको छ ।

भूकम्पकै कारण बझाङको चैनपुरलगायतका स्थानमा पनि घरहरु चर्किएको खबर प्राप्त भएको छ । आज दिउँसो बाजुराको मेला केन्द्रबिन्दु भएर दिउँसो १ बजेर ४३ मिनेट जाँदा ५ दशमलब ९ रिक्टर स्केलको भूकम्प गएको थियो । भूकम्पको धक्का कर्णाली र सुदूरपश्चिमसहित भारतसम्म महसुस भएको छ ।

Facebook Comments