प्रधानमन्त्री दाहाल र स्वास्थ्यमन्त्रीद्वारा अङ्गदान गर्ने घोषणा

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नो मृत्युपश्चात् आफ्नो शरीरका सम्पूर्ण अङ्ग दान गर्ने घोषणा गर्नुहुँदै ।
काठमाण्डौं, २०७९ माघ ६ गते शुक्रबार । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री पदम गिरीले अङ्गदान गर्ने घोषणा गर्नुभएको छ ।

सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले एक हजार जनाको मिर्गौला प्रत्यारोपण सफलताका साथ सम्पन्न भएको अवसरमा आज यहाँ आयोजित प्रत्यारोपितको बृहत् भेलामा प्रधानमन्त्री दाहाल र स्वास्थ्यमन्त्री गिरीले मृत्युपश्चात आफ्ना अङ्ग दान गर्ने घोषणा गर्नुभएको हो ।

सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले एक हजार वटा मिर्गौला प्रत्यारोपण सम्पन्न गरेको उपलक्ष्यमा केन्द्रद्वारा आयोजित कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई शुक्रबार बिहान प्रज्ञा भवन कमलादीमा डा पुकारचन्द श्रेष्ठले दाता कार्ड हस्तान्तरण गर्नुहुँदै । तस्बिर : प्रदीपराज वन्त/रासस
सो अवसरमा प्रधानमन्त्री दाहाललाई केन्द्रका निर्देशक डा पुकारचन्द श्रेष्ठले दाता कार्ड हस्तान्तरण गर्नुभएको थियो । यस्तै स्वास्थ्यमन्त्री गिरीलाई प्रधानमन्त्री दाहालले दाता कार्ड हस्तान्तरण गर्नुभयो । रासस