Wed. May 1st, 2024

कर्णाली प्रदेशसभामा महिला सभामुख

- सभामुखमा नन्दा गुरुङ निर्वाचित

काठमाण्डौं, २०७९ माघ ४ गते बुधबार । वि.सं. २०७४ को प्रदेशसभा र गठित प्रदेश सरकार ऐतिहासिक सङ्घीय संरचना कार्यान्वयनको प्रारम्भ थियो । सङ्घीयताको व्यवहारिक अभ्यासमा जाँदै गर्दा पहिलो कार्यकालमा सात प्रदेशमध्ये कुनै पनि सभामुख पदमा महिला पाउन सकेको थिएन ।

राज्यका जुनसुकै नीतिगत तहमा ३३ प्रतिशत महिला अनिवार्य हुनुपर्ने संविधानमा व्यवस्था छ । वि.सं. २०७४ को निर्वाचनपश्चात प्रदेशसभामा निर्वाचित कुल सदस्य सङ्ख्याको ३३ प्रतिशत महिला सातै प्रदेशमा निर्वाचित हुनुभएको थियो । संसद्मा सभामुख र उपसभामुखमा पुरुष वा महिला अनिवार्य हुनुपर्ने संवैधानिक बाध्यताले सबै प्रदेशमा पहिलो कार्यकालमा महिला उपसभामुखमा मात्र चुनिनुभयो ।

वि.सं. २०७९ को निर्वाचनपश्चात कर्णाली प्रदेशसभाले आइतबार मात्र सभामुख प्राप्त गरेको छ । यही माघ १ गते सम्पन्न भएको कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको पहिलो अधिवेशनको तेस्रो बैठकले प्रदेशसभा सदस्य नन्दा गुरुङलाई सभामुखमा निर्वाचित गरेको हो । सभामुखमा निर्वाचित उहाँ सङ्घीयताको इतिहासमा प्रदेशसभामा पहिलो महिला सभामुख हुनुहुन्छ ।

यस्तो छ नव नवनिर्वाचित सभामुख गुरुङको जीवनी    

वि.सं. २०२३ फागुन २ गते आमा कुमारी र बुवा लालबहादुर गुरुङको जेठी छोरीका रूपमा दैलेखको नारायण नगरपालिका-७ नयाँगाउँमा जन्मिनुभएको थियो । आमा बुवासहित परिवार बसाइँ सरेपछि उहाँको बाल्यकाल भने बर्दियाको बढैयाताल गाउँपालिकामा बित्यो । उहाँले प्रारम्भिक शिक्षा बर्दियाबाट लिनुभयो ।
घरमा दाजुहरू राजनीतिमा आबद्ध भएकाले गुरुङमा सानै उमेरदेखि राजनीतिक प्रभाव थियो । त्यही प्रभावले आठ-नौ कक्षा पढ्दा नै राजनीतिकबारे बुझ्न थालेकी उहाँले वि.सं. २०४६ अघि प्रतिबन्धित अवस्थामा अनेरास्ववियू छैटौँमा आबद्ध भएर राजनीतिक यात्रा सुरु गर्नुभएकी गुरुङले वि.सं. २०४६ पछि नेकपा (एमाले)को राजनीतिमा जोडिनुभयो ।

एमालेको प्रारम्भिक कमिटी, वडा, क्षेत्र हुँदै जिल्ला कमिटीमा आबद्ध भएर सदस्यका रूपमा काम गर्नुभयो । त्यस्तै युवासङ्घको जिल्ला कमिटीमा दुई कार्यकाल सदस्य भएर काम गर्नुभयो । पछि वि.सं. २०५४ मा हालको वीरेन्द्रनगर नगरपालिका-२ (साविकको उत्तरगङ्गा गाविस-४ सुर्खेत)को वडासदस्यमा विजयी हुनुभयो । त्यही सालमा मेनिन्जाइटिस् रोगका कारण उहाँले पति धर्मबहादुर गुरुङलाई गुमाउनुप-यो ।

एकल महिलाको सङ्घर्षपूर्ण जिन्दगीलाई उहाँले समाज सेवामा लगाउँदै पछि खुला शिक्षातर्फ वीरेन्द्रनगर-१२ अमरज्योति माविबाट वि.सं. २०६५ मा एसएलसी, २०६६/६७ मा जनमाविबाट प्रवीणता प्रमाणपत्र तह र २०७० मा सुर्खेत क्याम्पस शिक्षाबाट स्वास्थ्य विषय लिएर स्नातक पास गर्नुभयो ।

अखिल नेपाल महिला सङ्गठनको जिल्ला संयोजक र केन्द्रीय सदस्यका रूपमा काम गर्दै आउनुभएकी गुरुङ अहिले प्रदेश कमिटी सदस्य हुनुहुन्छ । उहाँ एकल महिला तथा महिलाहरूको हकहितका लागि पनि क्रियाशील हुनुहुन्छ । हाल मानवअधिकारका लागि एकल महिला समूह सुर्खेतको कोषाध्यक्ष पनि हुनुहुन्छ । तीन दाजु र आफूसहित एक बहिनी भएकी नव निर्वाचित सभामुख गुरुङका दुई छोरा र एक छोरी छन् । रासस

Facebook Comments