Mon. Dec 23rd, 2024

सभामुखमा एमालेका घिमिरेको मनोनयन दर्ता   

सङ्घीय संसद भवन नयाँबानेश्वरमा बुधबार प्रतिनिधिसभाको सभामुख पदमा नेकपा (एमाले)को तर्फबाट देवराज घिमिरेले उम्मेदवारी दर्ता गर्नु भएपछि सहभागीलाई अभिवादन गर्नुहुँदै । तस्बिर : रत्न श्रेष्ठ, रासस

काठमाण्डौं, २०७९ माघ ४ गते बुधबार । प्रतिनिधिसभाको सभामुख पदका लागि सत्ता साझेदार दलका तर्फबाट नेकपा (एमाले) का सांसद देवराज घिमिरेले मनोनयन दर्ता गराउनभएको छ । नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनको ल्होत्से हलमा व्यवस्था गरिएको निर्वाचन अधिकृतको कार्यालय पुगेर उहाँले मनोनयन दर्ता गराउनुभएको हो ।

प्रतिनिधिसभाको सभामुख पदमा नेकपा (एमाले)को तर्फबाट बुधबार उम्मेदवारी दर्ता गराउनुभएका देवराज घिमिरे सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्नुहुँदै । तस्बिर : रत्न श्रेष्ठ, रासस

उहाँको प्रस्तावकमा एमालेका सांसद सुवास नेम्वाङ, समर्थकमा नेकपा ९माओवादी केन्द्र०का प्रमुख सचेतक हितराज पाण्डे, राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष एवं उपप्रधानमन्त्री रवि लामिछाने र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष एवं उपप्रधानमन्त्री राजेन्द्र लिङ्देन हुनुहुन्छ ।

वि.सं. २०१३ मा ताप्लेजुङमा जन्मनुभएका घिमिरे २०५६ देखि २०६० सालसम्म राष्ट्रियसभा सांसद हुनुहुन्थ्यो । उहाँ प्रतिनिधिसभा सदस्यमा झापा क्षेत्र नं २ बाट निर्वाचित हुनुभएको थियो । उहाँले विद्यार्थी सङ्गठनबाट राजनीति शुरु गर्नु भएको थियो । उहाँ विसं २०४९ मा एमालेको केन्द्रीय सदस्य हुनुहुन्थ्यो । घिमिरेले एमालेको स्वास्थ्य विभागको अध्यक्ष भएर काम गर्नुभएको थियो । हाल उहाँ एमालेको स्थायी समिति सदस्य हुनुहुन्छ ।

आज अपराह्न १ देखि ४ बजेसम्म सङ्घीय संसद् भवनमा प्रतिनिधिसभाका कुनै सदस्यलाई सभामुखमा निर्वाचित गरियोस् भनी प्रस्तावको सूचना दर्ता गरिने कार्यतालिका छ । निर्धारित समयभित्र दर्ता भएका उम्मेदवारीको सूचनाको दर्ता अनुसारको सूची आजै अपराह्न ४ः१५ बजे प्रकाशित गरिने छ ।

प्रतिनिधिसभाका सभामुखको निर्वाचन यही माघ ५ गते बिहान ११ बजे हुँदैछ । उक्त बैठकमा सभामुख पदमा निर्वाचित गरियोस् भनी प्रस्तावकले प्रस्ताव र समर्थकले समर्थन गर्ने कार्यतालिका छ । त्यसलगत्तै उम्मेदवारीको सूचनामाथिको सामूहिक रुपमा छलफल हुने र दर्ता क्रमानुसार निर्णयार्थ प्रस्तुत गरिनेछ । प्रतिनिधिसभाको गत पुस २६ गतेको बैठकले माघ ५ गते सभामुखको निर्वाचन गर्न आज निर्वाचन तालिका प्रकाशित गर्न निर्देशन दिएको थियो ।

सङ्घीय संसद्को पहिलो बैठक बसेको १५ दिनभित्र प्रतिनिधिसभाका सदस्यमध्येबाट सभामुख निर्वाचित गर्ने सवैधानिक व्यवस्था छ । सभामुख र उपसभामुखमध्ये एक महिला र फरक दलको हुनुपर्नेछ । नेपाली जनताको सर्वभौमसत्ता सम्पन्न सर्वोच्च थलोका रुपमा प्रतिनिधिसभा रहिआएको छ ।

Facebook Comments