Wed. Apr 24th, 2024

परराष्ट्र नीति, २०७७ पूर्णरूपमा कार्यान्वयन गरिनुपर्ने   

काठमाण्डौं, २०७९ पुस २८ गते बिहीबार । राष्ट्रियसभा, राष्ट्रिय सरोकार तथा समन्वय समितिले परराष्ट्र नीति, २०७७ पूर्णरूपमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिएको छ ।

समितिले आज सिंहदरबारमा परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौडेललाई बैठकमा डाकेर नीति पूर्णरूपमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिएको हो । बैठकमा समिति सभापति दिलकुमारी रावल थापा (पार्वती)ले नीति कार्यान्वयनमा आएका अवरोध नहुन् भनी मन्त्रालयसँग छलफल गरिएको जानकारी दिनुभयो ।

बैठकमा सांसदहरू जगतबहादुर कार्की, दीपा गुरुङ, जयन्तीदेवी राई, शेखरकुमार सिंह, रामचन्द्र राई, गोपीबहादुर सार्की आछामी, सोनाम गेल्जेन शेर्पालगायतले व्यापार कूटनीति कमजोर रहेको, पहाडी जिल्लामा इलाका प्रशासन कार्यालयबाटै राहदानी दिने व्यवस्था गर्नुपर्ने, भारतले आफ्नो लगानीको विद्युत् मात्र किन्ने समस्या समाधान गर्नुपर्ने, म्यानमारको सैनिक सरकारलाई राष्ट्रपति शुभकामना नपठाई त्यहाँको सरकारी पत्रिकामा छापिएकोलगायत विषयका बारेमा प्रष्ट पारिनुपर्ने बताउनुभएको थियो ।

बैठकमा मन्त्रालयका सचिव पौडेलले स्वदेशमा ९४ स्थान र विदेशमा ३८ स्थानबाट राहदानी वितरण एवं नवीकरणका काम भइरहेको जानकारी दिनुभयो । उहाँले म्यानमारको सरकारी पत्रिकामा राष्ट्रपतिको शुभकामना छापिएका विषयमा बुझ्ने काम भइरहेको जानकारी दिनुभयो । नेपालको अलैँची, चिया र कफीको विदेशमा पनि बजार रहेकाले त्यसलाई प्रवर्द्धन गरिनुपर्ने उहाँको भनाइ थियो । रासस

Facebook Comments