Fri. May 3rd, 2024

गोविन्देलाई मात नियन्त्रण गर्ने औषधि

सांकेतिक तस्विर ।

चितवन। चितवन राष्ट्रिय निकुञ्जले पश्चिम चितवन क्षेत्रमा रहेको जङ्गली हात्ती गोविन्देलाई मात नियन्त्रण गर्ने औषधिको प्रयोग गरेको छ ।

मङ्सिरमा उक्त हात्तीले मेघौली क्षेत्रमा एक वृद्धाको ज्यान लिएपछि निकुञ्जले सो हात्तीलाई मात नियन्त्रण गर्ने औषधि प्रयोग गरेको हो । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार यही पुस ३ गतेदेखि सोही क्षेत्रमा क्यामेरा ट्यापिङ्मा रहेको निकुञ्जको प्राविधिक टोलीले हात्तीलाई मात नियन्त्रण गर्ने औषधि प्रयोग गरेको हो ।

निकुञ्जबाट बाहिर निस्किएर अन्य मानवीय क्षति गर्नसक्ने आशङ्कामा हात्तीलाई प्राविधिक टोलीले औषधि दिएको तिवारीले बताउनुभयो । उहाँले भन्नुभयो, “गोविन्दे हिंस्रक होइन तर पनि मात नियन्त्रण गर्ने औषधि दिएका छौँ ।” अहिले गोविन्दे मात चढेको अवस्थामा नरहेको उहाँले जानकारी दिनुभयो ।

पुस २० गतेसम्म बसेको सो प्राविधिक टोलीले सोही क्षेत्रमा घाइते बाघ रहेको आशंका गरेको थियो । त्यसको पहिचान र हात्तीको उचित व्यवस्थापनका लागि बाघ गणनामा प्रयोग गरिएका चार जोडी क्यामेरा प्रयोग गरिएका थिए । सोही क्रममा हात्तीलाई औषधि दिइएको हो । बाघ भने सो क्षेत्रमा नदेखिएको उहाँले जानकारी दिनुभयो । रासस

Facebook Comments