Tue. May 7th, 2024

शेयरबजार: नेप्सेमा करिब ११ महिनापछि ५ अर्बभन्दा बढीको कारोबार

काठमाण्डौं, पुस २०७९ पुस २१ गते बिहीबार । पुष्पकमल दाहाल “प्रचण्ड”को नेतृत्वमा नयाँ सरकारको गठनदेखि नेप्से परिसूचक निरन्तर बढिरहेको छ। नयाँ सरकारले दोस्रो बजारका लगानीकर्ताहरुको मनोबल बढाएको छ। नयाँ सरकारको नयाँ अर्थमन्त्रीका रुपमा नियुक्त भएका विष्णु पौडेलले वित्त तथा पूँजी बजारमा सकारात्मक परिवर्तन ल्याउन गरेको प्रयाससँगै शेयर बजारका लगानीकर्ताहरुको मनोबल बढेको छ । नयाँ सरकार गठन भएयता नेप्से परिसूचक २७८.२९ अंक बढिसकेको छ ।

बिहीबार नेप्से सूचक १८.०९ अंकले बढेर २१४३.९३ को विन्दुमा पुगेको छ । आज सेन्सेटिभ इण्डेक्स २.६१ अंकले बढेको छ भने फ्लोट इण्डेक्स १.२३ अंकले बढेको छ । नेप्सेसँगै यस दिन कारोबार रकममा पनि उल्लेख्य सुधार भएको छ । आज कारोबार रकम करिब ११ महिना यताकै उच्च हो। यसअघि २०७८ फागुन १ गते नेप्सेमा ५ अर्बभन्दा बढीको शेयर कारोबार भएको थियो। आज कूल २५९ कम्पनीको १ करोड २५ लाख ८१ हजार ९८२ कित्ता शेयर ५ अर्व ४ करोड ७ लाख ४० हजार ९ सय ३७ रुपैयाँ ९ पैसामा खरिदबिक्री भएको छ ।

आज १३ वटा उपसमूह सूचकहरूमध्ये २ वटा घटेका छन् भने ११ वटा बढेका  छन् । आज बैंकिङ र अन्य समूह घटेका छन् । बैंकिङ समूह ०.३१ प्रतिशतले घटेको छ भने अन्य समूह ०.८७  प्रतिशतले घटेको छ । आज होटेल तथा पर्यटन समूह सार्वधिक ५.७५ प्रतिशतले बढेको छ ।

आज ५ वटा कम्पनीको शेयर सकारात्माक सर्किट लेभलमा कारोबार भएका छन् ।  सकारात्माक सर्किट लेभलमा कारोबार गर्नेमा चन्द्रागिरी हिल्स लिमिटेड, खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेड, बुद्ध भूमि जलविद्युत आयोजना, श्रीजनशील लघुवित्त वित्तीय संस्था लिमिटेड रहेका छन् । त्यसैगरी, बाराही हाइड्रोपावर, हिमालयन ऊर्जा विकास कम्पनी, इष्टर्न हाइड्रोपावर र हिमालयन हाइड्रोपावरको शेयरमूल्य ९ प्रतिशतभन्दा बढीले  बढेका छन् । आज सिटिजन म्युचुअल फण्डले सबैभन्दा घाटा बेहोरेको छ । आज उक्त कम्पनीको शेयर ३.०३ प्रतिशतले घटेको छ ।

कारोबार रकमको आधारमा आज हिमालयन डिस्टिलरी लिमिटेड शीर्ष स्थानमा रहेको छ । आज उक्त कम्पनीले  ४३ कराड १९ लाख ६६ हजार ९ सय ७४ रुपैयाँ ९० पैसा बराबरको शेयर खरिदबिक्री गरेको छ । त्यसैगरी, यस दिन रिडी पावर कम्पनीको २१ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ भने हिमाल दोलखा हाइड्रोपावर र एनआईसी एशियाको ११ करोडभन्दा बढीको शेयर किनबेच भएको छ ।

Facebook Comments