Wed. May 15th, 2024

यातायात कार्यालयमा उपप्रधानमन्त्री श्रेष्ठको अनुगमन

काठमाण्डौं, २०७९ पुस १९ गते मंगलबार । सवारी चालक अनुमति लिनका लागि नागरिकले भोग्नुपरको समस्याको समाधानका लागि उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले पहल थाल्नुभएको छ ।

उपप्रधानमन्त्री श्रेष्ठले आज एकान्तकुनास्थित यातायात कार्यालयको अनुगमन तथा निरीक्षण गर्नुभएको छ । उहाँले त्यस अवसरमा सेवाग्राहीसँग पनि अन्तरक्रिया गर्नुभएको उहाँका स्वकीय सचिव विजय गौतमले जानकारी दिनुभयो ।

उपप्रधानमन्त्री श्रेष्ठले कार्यालयका प्रमुख तथा कर्मचारीलाई नियमानुसार काम गर्न निर्देशन दिँदै कुनै पनि गुनासो आए सरकारले कारबाही गर्ने बताउनुभयो । अनुगमनका क्रममा मन्त्री श्रेष्ठले सेवाग्राही एवम् सर्वसाधारणसँग अन्तरक्रिया गर्नुभएको छ भने गुनासो सुन्दै सेवा सुधारमा आफू लागिपरेको बताउनुभयो । उहाँले सेवा प्रभावकारी र सहज बनाउन कार्यालय प्रमुख र कर्मचारीलाई निर्देशन पनि दिनुभएको छ ।

मन्त्री श्रेष्ठले सेवा दिने समय बढाउन, छिटोछरितो ढङ्गले काम गर्न र अनियमितता, बिचौलियाको प्रभाव र सेटिङको अन्त्य गर्न निर्देशन दिनुभयो । कहीँकतैबाट गलत भएको जानकारी आए तत्काल कारबाही गर्ने उहाँले चेतावनी दिनुभयो । यस्तै उहाँले सवारी चालक अनुमति कार्यालय ठूलो भर्‍याङ र यातायात व्यवस्था कार्यालय (मोसा) गुर्जुधाराको अनुगमन तथा निरीक्षण गर्नुहनेछ । रासस

Facebook Comments