Sat. May 11th, 2024

प्रधानमन्त्रीद्वारा निर्वाचन आयोगका पदाधिकारीसँग परामर्श

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सोमबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा निर्वाचन आयोगका पदाधिकारीसँग छलफल गर्नुहुँदै । तस्बिर : प्रदीपराज वन्त, रासस

काठमाण्डौं, २०७९ पुस १८ गते सोमबार । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको काम कारवाहीलाई प्रभावकारी बनाउने सम्बन्धमा भोलि मङ्गलबार निर्देशनात्मक सम्बोधन गर्नुहुने भएको छ ।

प्रधानमन्त्रीमा नियुक्त भएपछि पहिलोपटक सरकारको काम कारवाही प्रभावकारी बनाउन सरकारका सचिवसँग उहाँले आज छलफल गर्नुभएको हो । प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरण शर्माका अनुसार प्रधानमन्त्री प्रचण्डले सचिवहरुका कार्यविवरण सुनिसकेपछि मङ्गलबार आवश्यक निर्देशन दिनुहुनेछ ।पुस १० गते प्रधानमन्त्री नियुक्त हुनुभएका प्रचण्डले सुशासन र नागरिकलाई सरल र सहजरुपमा सेवा प्रदान गर्ने यसअघि नै घोषणा गर्नुभएको थियो । पुस ११ गते उहाँले नागरिकलाई सेवा प्रदान गर्ने निकायमा भइरहेको बेथिति अन्त्य गर्ने घोषणा गर्नुभएको थियो ।

विशेष गरी राहदानी वितरण, सवारी चालक अनुमतिपत्रलगायत सेवाग्राहीको बढी भीडभाड हुने कार्यालयको कामलाई सरल र सहज बनाउने प्रधानमन्त्रीको योजनाअनुसार आज पहिलो चरणमा प्रधानमन्त्रीले सचिवहरुसँग छलफल गर्नुभएको हो । केही सचिव र विभागका प्रमुखले आ-आफ्नो विभागको कार्यविवरणबारे प्रस्तुति दिन बाँकी रहको छ ।सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको छलफलमा सचिवहरुले आ-आफ्नो मन्त्रालयको वस्तुस्थितिबारे प्रधानमन्त्रीलाई ‘रिपोर्टिङ’ गर्नुभएको थियो ।

सरकार प्रमुखको हैसियतले प्रधानमन्त्री दाहालले विभिन्न मन्त्रालय र निकायहरुको कामकारबाही बारे जानकारी लिने काम सुरु गर्नु भएको नेपाल सरकारका मुख्यसचिव शंकरदास बैरागीेले जानकारी दिनु भयो ।

केही सचिव र विभागको विवरण मङ्गलबार प्रस्तुत भएपछि मात्रै प्रधानमन्त्रीले निर्देशनात्मक सम्बोधन गर्ने कार्यसूची तय भएको छ । रासस

Facebook Comments