Fri. May 3rd, 2024

साइप्रस र अमेरिका पठाइदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ

महेश भट्टराई/काठमाडौं । साइप्रस पठाइदिन्छु भन्दै ६ लाख रुपैयाँ ठगी गरेको अभियोगमा कञ्चनपुर भिमदत्त नगरपालिका-६ घर भई काठमाडौं महानगरपालिका-९ पुरानो बानेश्वर बस्ने ३० वर्षीय विनोद लुहारलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

लुहारले १ लाख ५० हजार रुपैयाँ मासिक तलब हुने गरी वर्किङ भिषामा साइप्रसको प्रतिष्ठित होटलमा काम लगाइदिन्छु भन्दै पीडितबाट उक्त रुपैयाँ लिई ठगी गरेका थिए । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका-१० नयाँ वानेश्वरबाट पक्राउ गरेको हो ।

उनलाई थप अनुसन्धान तथा कारवाहीका लागि वैदेशिक रोजगार विभाग बुद्धनगर पठाइएको छ ।

अमेरिका लगायतका देशमा पठाइदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ

अमेरिका लगायतका देशमा पठाइदिन्छु भन्दै १ करोड ६२ लाख ६ हजार रूपैयाँ ठगी गरेको अभियोगमा ललितपुर महानगरपालिका-१ कुपण्डोल घर भई हाल काठमाडौं बूढानीलकण्ठ नगरपालिका-८ ओमनगर बस्ने ४४ वर्षीय राजेश थापालाई बुधवार प्रहरीले पक्राउ गरेको छ ।

थापाले विभिन्न व्यक्तिहरूलाई मासिक ३ लाख तलबका साथै ग्रिनकार्ड, पीआर र हङकङ आईडी समेत बनाइदिने भनी वैदेशिक रोजगारीका लागि अष्ट्रेलिया, अमेरिका, क्यानडा तथा हङकङ लगायतका देशहरूमा पठाइदिने भन्दै ठगी गरेका थिए । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनबाट खटिएको प्रहरीले काठमाडौं लैनचौरबाट पक्राउ गरेको हो ।

उनलाई थप अनुसन्धान तथा कारवाहीका लागि जिल्ला प्रहरी परिसर टेकू पठाइएको नेपाल प्रहरीले जनाएको छ ।

Facebook Comments