Sat. Apr 27th, 2024

रेड सी नजिकै गठबन्धनले ड्रोन आक्रमण गरेको हुथी समूहको दावी

साना, २०७९ पुस १३ गते बुधबार । यमनमा जारी युद्धविरामलाई भङ्ग गर्दै रेड सीको किनार ड्रोन आक्रमण गरेको यमनी विद्रोही समूहले बुधबार जनाएको छ ।

यमनको हुथी लडाकू समूहले साउदी नेतृत्वको गठबन्धनले यमनको रेड सीको किनारामा रहेको बन्दरगाह शहर होदेइदामा पछिल्लो २४ घण्टामा छ वटा ड्रोन आक्रमण गरेको हुथी विद्रोहीद्वारा सञ्चालित अल-मसिराह टिभीले विद्रोहीको उच्च स्रोतलाई उद्धृत गरी उल्लेख गरेको हो ।

मिलिशियाले दक्षिणी जिल्लाहरूमा भएको आक्रमण ‘एकै दिनमा शहरमा युद्धविरामको १२३ गठबन्धन उल्लङ्घनहरूमध्ये एक’ भएको बताएको छ ।

यमनको गठबन्धन वा सरकारले यसबारे समाचार तयार पार्दासम्म कुनै पुष्टि गरेको छैन ।

सन् २०१८ को डिसेम्बरमा स्टकहोममा संयुक्त राष्ट्रसङ्घको मध्यस्थतामा भएको युद्धविराममा साउदी नेतृत्वको गठबन्धन समर्थित यमनी सरकारी फौज र हुथी मिलिसियाबीच युद्धविराम भएको थियो ।

यमनको उत्तरपश्चिमी भागमा रहेको बन्दरगाह शहर हुथी समूहको नियन्त्रणमा छ भने सरकारी सेना यसको दक्षिणी जिल्लातर्फ अघि बढेको छ ।

सन् २०१४ को अन्त्यतिर इराननिकट भनिने हुथी लडाकूसमूहले उत्तरी सहरहरूमा आक्रमण गरी साउदी अरब निकट मानिएको यमनी सरकारलाई राजधानी सानाबाट बाहिर निकालेपछि यमन गृहयुद्धमा फसेको थियो । साउदी नेतृत्वको गठबन्धनले सन् २०१५ मा यमन द्वन्द्वमा हस्तक्षेप गर्दै अन्तर्राष्ट्रिय मान्यता प्राप्त सरकारलाई समर्थन गरेको थियो ।  रासस

Facebook Comments