Sat. Apr 27th, 2024

तीनवटा स्थानीय तहका आफ्नै प्रहरी

रोल्पा, २०७९ पुस १३ गते बुधबार । रोल्पामा तीनवटा स्थानीय तहले आफ्नै प्रहरी भर्ना गरेका छन् । जिल्लाका रोल्पा नगरपालिका सहित रुन्टिगढी र माडी गाउँपालिकाले आफ्नै प्रहरी भर्ना गरेका हुन् ।

रोल्पा नगरपालिका जिल्ला सदरमुकाममा रहेको छ भने रुन्टिगढी र माडी गाउँपालिका नगरोन्मुख गाउँपालिका हुन् । रुन्टिगढीले एक महिलासहित नौ नगर प्रहरी भर्ना गरेको छ ।

रोल्पा नगरपालिकाले तीन महिलासहित १० नगर प्रहरी भर्ना गरेको छ । नगर प्रहरीमा एक प्रहरी हबल्दार रहेका छन् भने नौ जना प्रहरी जवान रहेका छन् । ट्राफिक व्यवस्थापन, बजार अनुगमन, पर्यटकीय क्षेत्रमा रहेका संरचनाको सुरक्षालगायतका काममासमेत नगर प्रहरी परिचालन गरिने ती पालिकाले जनाएका छन् ।

जिल्लाको माडी गाउँपालिकाले गाउँ प्रहरीको नाम दिएर आफ्नै प्रहरी भर्ना गरेको छ । उसले दुई महिलासहित सातजना गाउँ प्रहरी भर्ना गरेको हो । गाउँ प्रहरीमा एक जना प्रहरी सहायक निरीक्षक र ६ प्रहरी जवान कार्यरत छन् ।

नगर प्रहरी सुरक्षा र विकास गतिविधिमा परिचालन हँुदै आएको रुन्टिगढी गाउँपालिकाका अध्यक्ष जनक पुनले जानकारी दिनुभयो । “शान्ति सुरक्षालाई चुस्त राख्नका साथै अन्य गतिविधिमासमेत नगरप्रहरी परिचालित हुन्छन्” उहाँले भन्नुभयो ।

नगर प्रहरीलाई सलामी, पिटी परेट, भीड नियन्त्रण, रेक्यू, विपद् व्यवस्थान तथा उद्धार र सामान्य हतियार सञ्चालनसम्बन्धी एक महिनाको तालिम सञ्चालन गरिएको थियो ।

प्रहरीलाई कार्यालय सञ्चालन, चेन अफ कमानलगायतका विषयमासमेत तालिम दिइएको थियो । राजस्व सङ्कलन, न्यायिक समितिलाई सहयोग, सरसफाइ, पर्यटन गाइड र कार्यालय सुरक्षाको लागि उनीहरुलाई परिचालन गर्ने सोच स्थानीय तहको भनाइ छ । नगर प्रहरीलाई सञ्चार सेट, खुकुरी र लठ्ठीको सहायताले सुरक्षा दिने व्यवस्था मिलाइएको छ । प्रहरीको खर्च व्यवस्थापन आन्तरिक स्रोतबाट हुँदै आएको जनाइएको छ । जिल्लामा एक नगरपालिकासहित दश स्थानीय तह छन् ।  रासस

Facebook Comments