Wed. Apr 24th, 2024

कोरोना भाइरसले थलिएका चिनिया मित्रलाई कवि बलराम दाहाल भन्नु हुन्छ: ‘हामी साथ छौं ।’

काठमाडौं, २०७६ फागुण १ गते बिहीबार

हामी साथ छौँ
                                           –बलराम दाहाल

जो जो जहाँ बसेका छौँ, यो धर्ती एउटै घर
मुटु मात्र सबै भिन्न, धड्कन एउटै तर
सेवा हि परमो धर्म, मन्त्र हो दु:ख नाशनम्
भावना छ सधै यौटै, वसुधैव कुटुम्बकम्
(१)
चिनिया तीर्थयात्री जो, स्वान चाङ अनि फास्यान
हुँदै नेपालको बाटो, आएका इतिहास छन्
यात्रा वर्णनमा जल्ले, लेखे नेपाल वर्णन
सदियौंदेखिको हाम्रो, छ सम्बन्ध पुरातन
(२)
सम्बन्ध अंशुवर्माले, अझै प्रगाढ होस् भनी
स्रङ्चङ्गम्पोसितै नाता, जोडिन्छिन् भृकुटी पनि
अरनिको कला बाँच्यो, चीनको श्वेत चैत्यमा
पेगोडा नमुना नाच्यो, नौलो शैली थियो जहाँ
(३)

भोटको नुन चाखेर, ल्हासाको सुन भित्रियो
नुनको सुनको भन्दा, सम्बन्ध गुनको थियो
त्यतैबाट यहाँ आई, मञ्जुश्रीले यताउता
काँटी चोभारको डाँडा, बस्यो बस्ती रसभ्यता
(४)
चीनलाई कुनै चोट, लाग्दा नेपाल दुख्दछ
नेपाल दुःखमा डुब्दा, चीनले आँसु पुछ्दछ
चल्दा त्यो मनमा आँधी, पोल्छ नेपालको मन
यही नै धर्म हो हाम्रो, यही मनुष्य जीवन
(५)

कोरोनाको महामारी, फैलिँदा चीनमा त्यहाँ
गर्दछौँ प्रार्थना हामी, हृदयले सबै यहाँ
दिनलाई ठुलो केही, नसके पनि साथ छ
हामी छौं साथमा तिम्रै, हातमा आज हात छ ।।
हामी छौं साथमा तिम्रै, हातमा आज हात छ ।।

Facebook Comments