Mon. May 20th, 2024

जुम्ली स्याउलाई बजारीकरणको अभाव

जुम्ला, २०७९ मंसिर २९ गते बिहीबार । बजारीकरण नहुँदा जुम्ली स्याउले उचित मूल्य पाउन सकेको छैन । अधिकांश स्याउ किसानले भदौ, असोज महिनामै बजारमा स्याउ बिक्रीका लागि लाने गरेका छन् ।

केही किसानले उचित मूल्य पाइने आशामा मङ्सिर र पुससम्म पनि स्याउ भण्डारण गरी राख्ने गरेका छन् । सिञ्जा गाउँपालिका-५ का रामसिंह रावलले दसैँमा नेपालगञ्ज लैजान टिपेर कार्टुनमा रााखेका स्याउ ढुवानी गर्ने गाडी नपाउँदा बिक्री गर्न पाउनुभएको छैन । उहाँले भन्नुभयो, “वर्षाले कर्णाली राजमार्ग बन्द भएपछि जुम्ला बजार ल्याउँदा पनि स्याउ बिक्री हुन सकेन ।” बजारीकरण गर्न नसक्दा नोक्सान बेहोर्नुपरेको रावलको भनाइ छ ।

जुम्ला विमानस्थलमा स्याउ बेच्न आउनुभएकी गेठीचौर गाउँपालिका-३ की उमादेवी अधिकारीले बिक्री नहुँदा समस्या भएको बताउनुभयो । उहाँले भन्नुभयो, “स्याउ खरिद गर्नेको सङ्ख्या कम छ । घरबाट दुई घण्टा हिँडेर बजारमा स्याउ ल्याए पनि बिक्री नहुँदा फेरि भारी बाकेर फर्किन निकै कठिन हुन्छ ।” रासस

Facebook Comments