Tue. Apr 30th, 2024

किराँत समुदाय देशभर हर्ष-उल्लासका साथ उधौली पर्व मनाउँदै फोटो फिचर समेत

भिओके समाचार/ललितपुर, २०७९ मंसिर २२ गते बिहीबार । किराँत समुदायले आफ्नो दोस्रो महत्वपूर्ण पर्व उधौली आज देशभर हर्ष-उल्लासका साथ मनाएका छन् । हरेक वर्ष मंसिर पूर्णिमाका दिन उधौली पर्व मनाउने गरिन्छ ।

किराँत धार्मिक ग्रन्थ मुन्धुमका अनुसार समयलाई उधौली र उभौली गरी दुई भागमा बाँडिएको छ । खेती-किसानीका आधारमा यी दुई समय बाँडिएको किराँत समुदायको बुझाइ छ । वैशाख पूर्णिमामा उभौली चाड मनाइन्छ । खेती किसानी गर्नका लागि मनाइने पर्व उभौली हो । बाली भित्रयाउने समयमा उधौली पर्व मनाउने गरिन्छ । बाली भित्रयाउनु अघि प्रकृतिसँग नजिक रहेका देवी-देवताको पूजा गरेर आफ्ना पुर्खा/पितृलाई सम्मान गर्दै नयाँ अन्न चढाउने प्रचलन रहेको छ ।

यस पर्वलाई मार्गशीर्ष शुक्ल अर्थात् मंसिर पूर्णिमा र धान्य पूर्णिमाका रूपमा पनि चिनिन्छ । धानलाई लक्ष्मी वा समृद्धिको प्रतीकका रूपमा पूजा गर्ने परम्परा नेपाली संस्कृतिमा छ । यो दिन धानको पर्वत बनाई पूजा गर्नाले धनधान्य वृद्धि हुने विश्वास गरिन्छ । नयाँ खाद्यान्न आफूले उपभोग गर्नुभन्दा पहिले देवी-देवता र पितृलाई अर्पण गरी आफूले खाने परम्परा नेपालका प्रायः सबै जाति र संस्कृतिमा छ । यद्यपि किराँत समुदायले भने यस पर्वलाई न्यासध्यानपूर्वक भव्य रुपमा मनाउँदै आएका छन् ।

मंसिर पूर्णिमाका दिन बिहान सबेरै नुहाइधुवाइ गरी घर-आँगन, चुलो-चौको लिपपोत गर्दै किराँत समुदायका मानिसहरू रंगीचंगी जातीय पोशाकमा सजिएर घरबाट कुखुराको भाले, रक्सी, अण्डा, चिण्डो, फलफूल, अक्षता, धुपबाती लगायतका सामग्रीसहित सामुहिक पूजास्थलमा भेला हुने गर्दछन् । गाउँहरूका गन्यमान्य, बूढापाका, धामीझाँक्री, तन्त्रमन्त्रकारी लगायतको उपस्थितिमा किराँतहरूको आदिदेवता पारुहाङ र सुम्निमा तथा प्रकृतिको पूजा गर्दै लामबद्ध भएर मौलिक किराँती भाखामा साकेला गाउँदै नाच्ने गर्दछन् । यस पर्वमाढोल, झ्याम्टा लगायतका बाजाहरू बजाउँदै सोई ढोले सोईको भाकामा नाचिने गीतलाई चण्डी गीत पनि भन्ने गरिन्छ ।

यस पर्वमा गरिने पूजामा किराँती समुदायको मात्र सहभागिता हुने भए पनि नाचगानमा भने अन्य जातिका मानिसहरूसमेत सहभागी हुने गरेकाले यो पर्व नेपाली मात्रको साझा बन्न थालेको छ ।

विगतका वर्षहरूमा उधौली पर्वको रौकन भोजपुरको हतुवा खैराङ, धनकुटाको छिन्ताङ, खोटाङको दिक्तेल, ओखलढुंगा, सोलुखुम्बु लगायतका क्षेत्रमा सीमित रहे पनि पछिल्ला दिनहरूमा यो पर्व ताप्लेजुङ, इलाम, झापाको केर्खा, मोरङको पथरी, सुनसरीको धरान, उदयपुरको चौदण्डीगढी, मैनामैनी, काठमाडौंको टुंडिखेल र ललितपुरको हात्तीवन, नख्खिपोट लगायतका क्षेत्रमा धूमधामसँग मनाउन थालिएको छ ।

यस पर्वको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेर बहादुर देउवा, उपराष्ट्रपति नन्दबहादुर पुन लगायतले शुभकामना सन्देश दिनुहुँदै मौलिक चाडपर्वले सांस्कृतिक, जातीय र भाषिक विविधतालाई आपसमा गाँसेर सामाजिक सद्भाव अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनु भएको छ ।

फोटो : अर्जुन राईको फेसबुक पेज

Facebook Comments