Tue. May 7th, 2024

काभ्रे-२ मा बाँस्कोटा निर्वाचित

काभ्रेपलाञ्चोक, २०७९ मंसिर ९ गते शुक्रबार । काभ्रेपलाञ्चोकको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं २ मा नेकपा (एमाले)का गोकुलप्रसाद बाँस्कोटा निर्वाचित हुनुभएको छ ।

बाँस्कोटाले मुख्य प्रतिस्पर्धी लोकतान्त्रिक वाम-गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार शिवप्रसाद हुमागाईंसँग ५ हजार ८ सय ६३ मतान्तरले विजयी हुनुभएको हो । मुख्य निर्वाचन कार्यालयका अनुसार बाँस्कोटाले ४५ हजार ३ सय ४५ मत प्राप्त गर्नुभएको छ भने हुमागाईंले ३९ हजार ४ सय ८२ मत प्राप्त गर्नुभएको छ ।

यस्तै यस क्षेत्रबाट राष्ट्रिय स्वतन्त्र पार्टीका दिनेश हुमागाईंले १० हजार ५ सय ८६ मत प्राप्त गर्नुभएको छ । यो क्षेत्रमा १६ जना प्रतिनिधिसभा सदस्यमा प्रतिस्पर्धामा उत्रिएका थिए । यस क्षेत्रमा १ लाख ३ हजार ३ सय ९१ ले मतदान गरेको थिए । बाँस्कोटा प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन २०७४ मा निर्वाचित भएर मन्त्रीसमेत हुनुभएको थियो ।

वि.सं. २०३८ मा विद्यार्थी अवस्थादेखि नै राजनीतिमा यात्रारम्भ गर्नुभएका बाँस्कोटा पार्टीका विभिन्न भ्रातृ सङ्गठन तथा पार्टीको जिल्ला नेतृत्व समेत गर्नुभएको थियो । उहाँ पार्टीको पोलिटब्युरो सदस्य हुनुहुन्छ ।

Facebook Comments