Fri. Jan 3rd, 2025

बाँकेमा १ र ३ मा एमाले र २ मा राप्रपाको अग्रता   

राँझा, २०७९ मंसिर ५ गते सोमबार । बाँकेमा प्रतिनिधिसभातर्फका तीन क्षेत्रमध्ये दुई वटामा नेकपा (एमाले) र एउटामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उम्मेदवारले अग्रता लिएका छन् ।

बाँके क्षेत्र नं. १ मा सत्ता गठबन्धनको तर्फबाट उम्मेदवार बन्नुभएका युवा तथा खेलकुदमन्त्री महेश्वरजङ्ग गहतराजलाई पछि पार्दै नेकपा (एमाले)का उम्मेदवार सूर्य ढकालले सुरुवाती अग्रता लिनुभएको निर्वाचन क्षेत्र नं. १ का निर्वाचन अधिकृत यमप्रसाद बाँस्तोलाले जानकारी दिनुभयो ।

उहाँका अनुसार तीन हजार पाँच सय मत गणना गर्दा ढकालले एक हजार चार सय ५७ मतका साथ अग्रता लिनुभएको
छ । नेकपा (माओवादी केन्द्र) का उम्मेदवार गहतराजले सात सय ८५ मतका साथ पछ्याइरहनुभएको छ । यहाँ जनता समाजवादी पार्टीका रामकुमार यादवले पाँच सय ९९, नागरिक उन्मुक्ति पार्टीका सुरेशकुमार चौधरीले एक सय ८५, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का रामचरण चौधरीले २६, नेपाल मजदुर किसान पार्टीका नवीनकुमार शाहीले २६, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का आनन्दबाबु काफ्लेले २४ मत प्राप्त गर्नुभएको छ ।

बाँके क्षेत्र नं. २ मा राप्रपाका महामन्त्री रहनुभएका उम्मेदवार डा धवलशम्शेर राणाले तीन हजार चार सय ८३ मतका साथ अग्रता कायम गर्नुभएको छ । यहाँ जनता समाजवादी पार्टी (जसपा) का उम्मेदवार मोहम्मद इश्तियाक राई एक हजार ८९१, नेपाली कांग्रेसका सुदीप नरसिंह राणाले छ सय ८८ मत प्राप्त गर्नुभएको बाँकेका मुख्य निर्वाचन अधिकृत धनसिंह महरले जानकारी दिनुभयो ।

बाँके–३ मा नौ हजार सात सय ६९ मत गणना गर्दा नेकपा (एमाले)का उम्मेदवार किस्मतकुमार कक्षपतिले तीन हजार नौ सय ५५ मतका साथ अगाडि हुनुहुन्छ । नेपाली कांग्रेसका उम्मेदवार किशोरसिंह राठौरले तीन हजार पाँच सय आठ र राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार देवेन्द्रनाथ शुक्लाको एक हजार ३०४ मत प्राप्त गर्नुभएको बाँके क्षेत्र नं. ३ का मुख्य निर्वाचन अधिकृत प्रकाश भण्डारीले जानकारी दिनुभयो ।

बाँकेमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मत गणना तीन स्थानमा भईरहेको छ । क्षेत्र नं. १ को राप्तीसोनारी गाउँपालिका सभाहल, क्षेत्र नं. २ को नेपालगञ्जस्थित भेरी प्राविधिक शिक्षालय र क्षेत्र नं. ३ को खजुरास्थित कपास विकास समितिको कार्यालय परिसरमा मतगणना भईरहेको छ । रासस

Facebook Comments