Thu. Dec 26th, 2024

भोजपुरमा २३ सय भन्दा बढी सुरक्षाकर्मी परिचालन   

फाइल फोटो

टक्सार, २०७९ मंसिर २ गते शुक्रबार । आसन्न मङ्सिर ४ गतेको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि प्रदेश नं १ को पहाडी जिल्ला भोजपुरमा दुई हजार तीन सय बढी सुरक्षाकर्मी परिचालन गरिएका छन् ।

जिल्लामा ८७ मतदानस्थल र दुई अस्थायीसहित एक सय ५७ वटा मतदान केन्द्र कायम गरिएका छन् । ती सबै मतदान केन्द्रमा सुरक्षाकर्मी परिचालन भइसकेको प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेले जानकारी दिनुभयो । मतदान केन्द्रमा आवश्यक सुरक्षाकर्मीसहित सुरक्षा व्यवस्था मिलाइएको उहाँले बताउनुभयो ।

जिल्लामा म्यादी प्रहरी, नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनासहितको सुरक्षा व्यवस्था मिलाइएको सुरक्षा निकायले जनाएका छन् । जिल्लामा आठ सय ६० जना म्यादी प्रहरी, पाँच सय ३० नेपाल प्रहरी, दुई सय १५सशस्त्र प्रहरी र करिब सात सय बराबर नेपाली सेना परिचालन गरिएको जनाइएको छ ।

जिल्लामा ३० मिनेटभित्र पुग्न सक्नेगरी पर्याप्त सुरक्षाकर्मीको ‘रिजर्भ फोर्सको’समेत व्यवस्था गरिएको छ ।

रासस का अनुसार निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, भयरहित, पारदर्शी एवं विश्वसनीय बनाउने आवश्यक सुरक्षा प्रबन्ध मिलाइ सकिएको मुख्य निर्वाचन अधिकृत मणिराम न्यौपानेले बताउनुभयो । उहाँले सबै मतदान केन्द्रमा मतदान अधिकृतसहितको टोली पुगिसकेको बताउनुभयो ।

निर्वाचनका लागि जिल्लामा एक सय ५७ जना मतदान अधिकृत, एक सय ५७ जना सहायक मतदान अधिकृत र अन्य सहायक कर्मचारी गरी एक हजार दुई सय ४६ जना कर्मचारी परिचालन गरिएको छ ।

जिल्लामा प्रतिनिधिसभातर्फ १२ जना, प्रदेश (१) मा सात जना र प्रदेश (२) मा छ जना गरी २५ जनाको उम्मेदवारी छ । भोजपुरमा ६४ हजार एक सय २५ पुरुष, ५९ हजार दुई सय ५३ जना महिला र एक जना अन्य गरी कुल एक लाख २३ हजार तीनसय ७९ जना मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय भोजपुरका प्रमुख तोपलाल भुसालले जानकारी दिनुभयो ।

Facebook Comments