Tue. Dec 24th, 2024

गठबन्धनको जीत सुनिश्चित : खनाल   

फिक्कल, २०७९ मंसिर १ गते बिहीबार । पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले गठबन्धनको जीत सुनिश्चित भएको बताउनुभएको छ ।

इलाम क्षेत्र नं १ बाट गठबन्धनका उम्मेदवार खनालले आज फिक्कलमा पत्रकारसँग कुरा गर्दै भन्नुभयो, “देशव्यापीरुपमा गठबन्धनका उम्मेदवारको जीत पक्कापक्की जस्तै भएको छ ।”

नेपाली जनताले संविधानको रक्षा चाहेको बताउँदै खनालले पाँच वर्ष गठबन्धनको सरकार बन्ने बताउनुभयो । “देशले स्थिरता खोजेको छ । जनताले संविधानको रक्षा र अग्रगमन चाहेका छन् । मुलुकको चौतर्फी विकासका लागि गठबन्धनले देशभर विजय हासिल गर्दैछ ।”

उहाँका अनुसार अहिले गठबन्धन एकताबद्ध बनेको छ । “हाम्रासामु कुनै चुनौती छैनन् । पाँच वर्षमा मुलुकले काँचुली फेर्छ ।” यो निर्वाचन आफ्नो अन्तिम चुनावी लडार्इं भएको बताउँदै खनालले देश विकासका लागि पाँच वर्ष कार्यकारी प्रमुख भएर काम गर्नसमेत तयार रहेको बताउनुभयो ।
  
इलामको एमाले विजयी हुन्छ : नेम्वाङ    

नेकपा (एमाले) का उपाध्यक्ष सुवास नेम्वाङले इलामका दुवै क्षेत्रमा एमालेका उम्मेदवार विजयी हुने बताउनुभयो । आज यहाँ आयोजित कार्यक्रममा नेम्वाङले भन्नुभयो, “तपाईंहरुले दिएको भोट खेर जाँदैन । हामी इलामका दुवै क्षेत्रबाट विजयी हुन्छौँ ।”

मुलुकलाई संविधान दिएर विकासको आधार तयार बनाउन आफूले नेतृत्व गरको उहाँको भनाइ थियो । नेम्वाङ पाँचाँै पटक आगामी निर्वाचनमा प्रतिस्पर्धा गर्दै हुनुहुन्छ । उहाँले विसं २०५६ यता लगातार चुनाव जित्दै आउनुभएको छ । रासस

Facebook Comments