Sat. Apr 25th, 2026

इलाम समृद्ध बन्दैछ : नेम्वाङ   

फाइल फोटो

       

फिक्कल, २०७९ कात्तिक ३० गते बुधबार । नेकपा (एमाले)का उपाध्यक्ष एवं संविधानसभा अध्यक्ष सुवास नेम्वाङले इलामको विकट क्षेत्र विकसित बन्दै गएको बताउनुभएको छ । इलाम क्षेत्र नं २ बाट उम्मेद्वार रहनुभएका नेम्वाङले फाकफोकथुममा आज आयोजित चुनावीसभामा भन्नुभयो, “यो क्षेत्र इलामको कर्णाली भनेर चिनिने विकट क्षेत्र थियो तर अहिले धेरै विकास निर्माणका काम भएका छन् ।”

एमालेको नेतृत्वमा सडकदेखि पुलसम्मका सयौँ आयोजना सम्पन्न भएपछि इलाम क्षेत्र नं २ समृद्धिको बाटोमा अघि बढेको उहाँको भनाइ छ । “कुनै बेला यो ठाउँमा एक लाइन टेलिफोन सेवा थिएन । म निर्वाचित भएयता थुप्रै काम भएका छन्”, उहाँले भन्नुभयो, “अब यहाँ कसैले कल्पना गर्न नसक्ने विकास हुनेछ । त्यसको जिम्मा म लिन्छु ।”

नेम्वाङ यसअघि २०५६, २०६४, २०७०, २०७४ का सबै संसदीय निर्वाचनमा निर्वाचित हुनु भएको छ । “अब यस क्षेत्रका नागरिकले भरपर्दो उपचार पाउने अस्पताल निर्माणमा हामी लाग्छौँ ।” नेम्वाङले भन्नुभयो, “चुनावपछि एमालेको नेतृत्वमा सरकार बन्छ । तत्काल यो क्षेत्रमा सुविधा सम्पन्न अस्पताल निर्माणको थालनी गर्छौँ ।”

रासस का अनुसार यसअघिका निर्वाचनमा सहज जित हासिल गर्दै आउनुभएका नेम्वाङसँग यो पटक वाम–लोकतान्त्रिक गठबन्धन चुनौती बनेको छ । नेपाली कांग्रेसका जिल्ला सभापति डम्बर खड्का नेम्वाङका मुख्य प्रत्याशी उम्मेदवार हुनुहुन्छ । उहाँ युवा नेतृत्व स्थापित गर्ने ध्येयमा देखिनुभएको छ ।

इलाम जिल्लाका लागि कूल मतदाता दुई लाख २४ हजार चार सय ७७ रहेका छन् । स्थानीय तहको निर्वाचन यता जिल्लामा एक सय २९ मतदाता थपिएका छन् । इलाम क्षेत्र नं २ मा मात्र एक लाख १४ हजार नौ सय ४२ मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय इलामले जानकारी दिएको छ ।

Facebook Comments

सम्बन्धित समाचार