Tue. Dec 24th, 2024

किसानले कोदो लगाउनै छाडे   

डुम्रे, २०७९ कात्तिक २७ गते आईतबार । गत वर्षको तुलनामा यस वर्ष तनहुँमा कोदो उत्पादनमा कमी आउने भएको छ ।

जिल्लामा छ हजार तीन सय २० हेक्टर क्षेत्रफलमा कोदो खेती गरिएको कृषि ज्ञान केन्द्रका प्रमुख एवं वरिष्ठ कृषि विकास अधिकृत कुलप्रसाद तिवारीले जानकारी दिनुभयो । उहाँका अनुसार यस वर्ष करिब पाँच हजार पाँच सय मेट्रिकटन कोदो उत्पादन हुने अनुमान गरिएको छ ।

यहाँ उत्पादित कोदो जिल्लामा नै खपत हुने गरेको छ । पहाडी क्षेत्रको माथिल्लो भेगमा कोदो खेती गरिँदै आएको छ । कोदोको परिकार स्वास्थ्यको हिसाबले खान उपयुक्त मानिन्छ । कोदोको परिकार स्वास्थ्यवद्र्धक हुने भएकाले जिल्लामा माग बढ्दै आएको तिवारी बताउनुहुन्छ ।

गत वर्ष छ हजार पाँच सय ३० हेक्टर क्षेत्रफलमा पाँच हजार आठ सय २९ मेट्रिकटन कोदो उत्पादन भएको थियो । कोदो रोप्न र चुट्न झन्झटिलो हुने हुँदा खेती गर्न छाड्ने क्रम बढेको तिवारीले बताउनुभयो ।

“पाखो बारीमा नै उत्पादन हुने खेती हो । तर बीउ पारेर रोप्न र चुट्ने समस्याले किसानले खेती गर्नै छाड्न थाले । हरेक खेती हुने क्षेत्रको जमिन बाँझिने क्रममा छ”, उहाँले भन्नुभयो । कोदो उत्पादन क्षेत्रको जमिन घट्ने क्रम जारी रहेको उहाँले बताउनुभयो ।

“वन्यजन्तुको समस्याले गर्दा गाउँबाट बसाइँसराइ जाने क्रम छ । विशेष गरी पाखो बारीमा खेती गर्ने जमिन बाँझिदै गएको छ । कोदो लगाउन गाह्रो हुँदा पनि समस्या हुने गरेको छ”, तिवारीले भन्नुभयो । अहिले घरवास (होमस्टे) सञ्चालन भएका स्थानमा उत्पादन भएकै ठाउँमा कोदो खपत हुने गरेको उहाँको भनाइ छ ।

बन्दीपुर, व्यास, भानु, ऋषिङ, घिरिङ, भिमाद, देवघाट र आँबुखैरेनीको पहाडी क्षेत्रको उपल्लो भागमा कोदो खेती हुन्छ । ऋषिङ, घिरिङ, भिमादमा कोदोको बढी उत्पादन हुने गरेको उहाँले बताउनुभयो । कोदो उत्पादन भएको स्थानमा नै खपत हुने गरेको उहाँ बताउनुहुन्छ । केही स्थानमा उत्पादित कोदो बाहिर निर्यात गर्ने गरेको कृषि ज्ञान केन्द्रले जनाएको छ । घरवासमा ढेडो, रोटी तथा पिठोबाट बन्ने विभिन्न परिकारको माग होमस्टेमा समेत बढेकाले पछिल्लो समय कोदोको माग बढ्दै गएको छ भने उत्पादन घट्ने क्रममा रहेको किसान बताउँछन् ।

पछिल्लो समय जिल्लामा कोदोको माग बढे पनि स्थानीय उत्पादन कम हुँदा अभाव छ । चालु आर्थिक वर्षमा स्थानीय तहसँग समन्वय गरी कोदोलाई रैथानेबाली प्रवद्र्धन कार्यक्रमअन्तर्गत विशेष प्राथमिकतामा राखी उत्पादन प्रशोधन र बजारीकरण गरी सहज गराउने उद्देश्य रहेको ज्ञान केन्द्रले जनाएको छ । रासस

Facebook Comments