Mon. Apr 29th, 2024

चीनको सहयोगले तान्जानियाका ग्रमीण क्षेत्रका किसानको जीवनस्तर सुधार

दार एस सलाम । तान्जानियाको आर्थिक राजधानी दार एस सलामको पश्चिममा रहेको मोरोगोरो क्षेत्रको काइटे गाउँका किसान फिकिरी किसाइरो आफ्नो फस्टाउँदै गएको मकैको बाली हेर्दै गर्वका साथ हिँड्नुहुन्छ  ।

दशक लामो चीन-तान्जानिया कृषि सहयोगका लाभार्थी किसाइरोले आफ्नो दुई छोराछोरीको विद्यालयको शुल्क कसरी तिर्ने भनेर सोच्दै रात बिताउने दिनहरू समाप्त भएको बताउनुभएको छ ।

सानो प्रविधि, धेरै उत्पादन

मोरोगोरो क्षेत्रका केही गाउँहरूमा तान्जानियाको सोकोइन कृषि विश्वविद्यालयसँगको सहकार्यमा चाइना एग्रीकल्चरल युनिभर्सिटीले २०१९ मा निरीक्षण गरेको मकै परियोजनामा किसाइरो  सामेल हुनुभएको थियो । “सानो प्रविधि, धेरै उत्पादन” भनिने यो परियोजनाले तान्जानियाको ग्रामीण क्षेत्रमा गरिबी घटाउने लक्ष्य राखेको छ ।

आज पाँच जनाको परिवारसहित किसाइरोले आफ्ना छोराछोरीको स्कुलको शुल्क सजिलोसँग तिर्नु भएको छ भने उहाँले सुक्खा सिजन सहित वर्षभरि आफ्नो करिब १.२१ हेक्टरको तरकारी बारीमा सिँचाइ गर्न गहिरो पानीको पोखरी पनि बनाउनुभएको छ ।

मोरोगोरोका क्षेत्रीय आयुक्त मार्टिन शिगेलाले स्थानीय अधिकारीहरूको सहयोगमा चाइना एग्रीकल्चरल युनिभर्सिटीसँगको सहकार्यमा किसानहरूले आफ्नो मकैको उत्पादनमा उल्लेखनीय बृद्धि गरेको र १६ सय ६७ किसानहरूले कम्तीमा एक एकर (लगभग ०.४ हेक्टर) मकै उब्जाएको बताउनु भएको छ ।

संयुक्त राष्ट्र संघको दक्षिण-दक्षिण सहयोग कार्यालयका एसिया र प्रशान्त क्षेत्रीय संयोजक डेनिस नकालाले यो परियोजना लचिलोपन र खाद्य सुरक्षाका लागि चीन-अफ्रिका सहयोगको ठोस उदाहरण रहेको बताउनुभएको छ ।  उक्त  परियोजनाले मकैको उत्पादन तीन गुणा बढाउने र किसानहरूको आय बढाउने लक्ष्य राखेको छ, जसले गरिबी न्यूनीकरण, खाद्य सुरक्षा र तान्जानियामा दिगो विकासका लक्ष्यहरू हासिल गर्न यस परियोजनाले योगदान पुर्‍याउने उहाँको विश्वास छ ।

सानो बीन,  उत्तम पोषण

सोया मिल्क, स्वाद र पोषक तत्वले भरिपूर्ण परम्परागत चिनियाँ पेय, स्थानीय गाउँलेहरूमाझ लोकप्रिय हुँदै गएको छ । सोया मिल्क मिठो हुने र यसले स्वास्थ्यको लागि राम्रो गर्ने भएकोले ६२ वर्षीय किसान तातु सेफले  एकदम मनपर्ने बताउनुभएको छ । सोयाबीन पहिलो पटक मोरोगोरो क्षेत्रमा अर्को चीन-तान्जानिया सहयोग परियोजना मार्फत प्रस्तुत गरिएको थियो, जसलाई “सानो बीन, उत्तम पोषण” भनिन्छ ।

मोरोगोरोको १९९१-२०१८ को पोषण प्रतिवेदन अनुसार, स्थानीय किसानहरूले पुरानो खेती प्रविधिहरू प्रयोग गरेको र उक्त खेतीबाट सीमित प्रोटिन, भिटामिन र खनिजहरूका कारण लामो समयदेखि कुपोषणबाट ग्रस्त भएको उक्त प्रतिवेदनले देखाएको थियो ।

अन्तर-बाली भटमासको प्रवर्द्धन गरेर तिनीहरूको पोषण संरचनालाई प्रभावकारी रूपमा सुधार गर्न उक्त परियोजनाले निकै ठूलो भूमिका खेलेको छ ।

सोया मिल्क विशेष गरी पाँच वर्षमुनिका बालबालिका, गर्भवती र सुत्केरी महिलाको स्वास्थ्यमा सुधार गर्न सहयोग गरेको छ । यो परियोजना सकेसम्म धेरै मानिसहरूसम्म पुग्नु पर्छ भनेर रोजालिया ग्रेसन रुवेगासिरा, आर्थिक र उत्पादनशील क्षेत्रका प्रभारी उपप्रशासनिक सचिवले भन्नुभएको छ ।  यस परियोजना मार्फत, किसानहरूले गाईको दूधको विकल्प पाएका छन्  ।

चीन-अफ्रिका सहयोगको राम्रो उदाहरण

गत वर्ष चीन-अफ्रिका सहयोग मञ्चको आठौं मन्त्रीस्तरीय सम्मेलनमा घोषणा गरिएका नौवटा चीन-अफ्रिका सहयोग कार्यक्रमहरूमध्ये गरिबी न्यूनीकरण र कृषि विकास पनि समावेश छन् ।

चीन र तान्जानिया कृषि क्षेत्रमा राम्रो साझेदार भएको तान्जानियास्थित चिनियाँ दूतावासका मिनिस्टर काउन्सिलर सु चेनले बताउनु भएको छ । अनुभव, साझेदारी र लगानी मार्फत, द्विपक्षीय कृषि सहयोग परियोजनाहरूले बाली उत्पादन मात्र बढाएको छैन, तर धेरै स्थानीय किसानहरूको जीवनस्तरमा पनि सुधार ल्याएको छ । यसैबीच, तान्जानियाका कृषि उत्पादनहरू चिनियाँ बजारमा प्रवेश गरिरहेको उहाँले बताउनुभएको छ ।

अफ्रिकी संघ आयोगका उप-अध्यक्ष मोनिक नान्जाबागान्वाले चीन-अफ्रिका कृषि सहयोगले अफ्रिकाको आत्मनिर्भरताको आकांक्षालाई आफ्नै प्राकृतिक स्रोतको उपयोग गरेर साकार पार्न मद्दत गर्न सक्ने विश्वास गर्नुभएको छ । (सिन्ह्वा)

Facebook Comments