Sun. Apr 28th, 2024

सियोलमा भागदौड मच्चिँदा १५३ भन्दा बढीको मृत्यु

सियोल, २०७९ कात्तिक १३ गते आईतबार । दक्षिण कोरियाको राजधानी सियोलमा आयोजित एक धार्मिक उत्सवमा भागदौड मच्चिँदा कम्तीमा १५३ जनाभन्दा बढीको मृत्यु भएको अधिकारीहरूले आइतबार बताएका छन् ।

ईसाई धर्माबलम्बीहरूले प्रत्येक बर्ष अक्टोबर ३१ मा मनाउने ‘हेलोवीन’मा सहभागी मानिसहरू राजधानीको प्रसिद्ध इटावोन जिल्लामा भागदौड हुँदा शनिबार उत्सवमा सहभागी राति एक लाखभन्दा बढी मानिस त्यस क्षेत्रका साँघुरा गल्ली र घुमाउरो सडकहरूमा थुनिएपछि उक्त अप्रिय घटना भएको प्रहरीले जनाएको छ ।

घटनाप्रति दुःख व्यक्त गर्दै दक्षिण कोरियाली राष्ट्रपति युन सुक योलले आइतबार राष्ट्रिय शोकको घोषणा गर्दै टेलिभिजनमार्फत गरेको एक सम्बोधनमा भन्नुभयो, “एउटा त्रासदी र विपत्ति आयो जुन हुनु हुँदैनथ्यो ।”

उहाँले भन्नुभयो, “सरकारले घटनाको विस्तृत अनुसन्धान गर्नेछ र भविष्यमा फेरि यस्तै दुर्घटना नहोस् भनी आवश्यक सुधार गर्नेछ तथा सावधानी अपनाउनेछ ।”

“दुर्घटनास्थलको भ्रमण गर्नुअघि र उद्धारकर्मीहरूसँग कुरा गर्नुअघि सञ्चारकर्मीसँग बोल्दै राष्ट्रपति योलले भन्नुभयो, “घटनापछि मेरो हृदय भारी बनेको छ र पीडा नियन्त्रण गर्न गाह्रो भएको छ ।”

प्रत्यक्षदर्शीहरूले साँघुरो, ढलान भएको गल्लीमा फसेका मानिसहरू एकअर्कामाथि ढलेका र घुँडा टेकी उठ्ने र भीडबाट बाहिर निस्कन कोसिस प्रयास गर्दागर्दै भीडले कुल्चेर जीवन त्याग्न बाध्य भएका बताएका छन् ।

स्थानीय समयानुसार राति १० :०० बजे भएको भागदौडमा परी १९ विदेशीसहित कम्तीमा १५३ जनाको मृत्यु भएको अग्नी नियन्त्रण विभागले जनाएको छ । मृत्यु हुनेमा अधिकांश २० वर्ष भन्दा कम उमेरका युवती रहेको र ८९ जना घाइते भएको बताइएको छ । गृह मन्त्रालयले मृतकमध्ये अधिकांशको पहिचान भइसकेको जनाएको छ ।

“हेलोवीन घटनाका क्रममा धेरैलाई कुल्चिएका कारण हताहत हुनेको सङ्ख्या धेरै हुनगएको छ ,” अग्नि नियन्त्रक चोइ सियोङ-बिओमले घटनास्थलमा रहेका पत्रकारहरूलाई बताउनुभयो । घटनामा कैयौँ व्यक्ति सख्त घाइते भएकोले मृतकको सङ्ख्या बढ्न सक्ने उहाँले बताउनुभयो ।

सियोलका अधिकारीहरूले आइतबार बिहानसम्म ३५५ जना हराइरहेका अपुष्ट रिपोर्ट प्राप्त भएको जनाएका छन् । यसैबीच सो घटनामा मृत्यु भएका १५० मध्ये करिब ५० जनाको हृदयघात भएको आशङ्का गरिएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

स्थानीय प्रसारक वाईटीएनका अनुसार सियोलको रात्रिकालिन पर्यटकीय गन्तब्य इटेवोनमा रहेको एक बारमा एक अज्ञात सेलेब्रिटीको कार्यक्रम हेर्न ठूलो सङ्ख्यामा भीड जम्मा भएको समय भागदौड मच्चिएको थियो ।

योनहाप समाचार संस्थाका अनुसार स्थानीय समयअनुसार राति ११ः३० बजे हेलोवीन उत्सवको क्रममा भागदौड मच्चिएपछि करिब ५० जनाको हृदयाघात भएको थियो ।

श्वास प्रश्वासमा समस्या भएका ८१ जनालाई उद्धार गरिएको अग्निनियन्त्रक अधिकारीले सरकारलाई दिएको एक रिपोर्टमा उल्लेख गरिएको छ ।

उद्धारकर्मीलाई ‘कार्डियोपल्मोनरी’ उपचारका लागि तत्काल घटनास्थलमा पठाइएको सञ्चारमाध्यमहरूले बताएका छन् ।  एजेन्सी

Facebook Comments