Sun. May 5th, 2024

संवैधानिक व्यवस्था बाहिर अभिव्यक्ति दिने छुट छैन : मन्त्री भुसाल

काठमाण्डौं, २०७९ कात्तिक १२ गते शनिबार । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालले आफू प्रतिनिधिसभा सदस्य भएदेखि नै देश र जनताको पक्षमा भूमिका निर्वाह गर्दै आइरहेको बताउनुभएको छ ।

आज ललितपुरमा आयोजित वाम-लोकतान्त्रिक गठबन्धनको कार्यकर्ता प्रशिक्षण कार्यक्रममा उहाँले आफूले पाएको जिम्मेवारीलाई इमान्दारितापूर्वक पूरा गर्दै आएको बताउनुभयो ।

“प्रतिनिधिसभा नीति, नियम र कार्यक्रम बनाउने थलो हो, प्रतिनिधिसभामा रहेर मैले आफ्नो राष्ट्रिय भूमिका निर्वाह गरेको छु”, प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं ३ का उम्मेदवार भुसालले भन्नुभयो, “मुलुकमा राजनीतिक स्थायित्व ल्याउन र आर्थिक, सामाजिक विकासका एजेण्डालाई पूरा गर्न सधैँभर लागिपर्छु”, उहाँले भन्नुभयो ।

आफू कुनै विरासतका आधारमा राजनीतिमा नआएको उल्लेख गर्दै उहाँले लैङ्गिक रूपमा महिला भए पनि कहिल्यै त्यस रूपमा प्रस्तुत नगरेको बताउनुभयो । “मैले ४४ वर्ष ललितपुरको भू-भागमा बिताएको छु”, उहाँले भन्नुभयो, “राजनीतिक परिवर्तनका साथै राष्ट्र र जनताको निम्ति आफ्नो जीवन यही समर्पित गरेको छु ।”

प्रतिनिधिसभा सदस्यका लागि मतदाता सूचीमा नाम भएका व्यक्तिले जुनसुकै क्षेत्रबाट पनि उम्मेदवार दिन सक्ने संवैधानिक व्यवस्था रहेको उल्लेख गर्दै संवैधानिक दायराभन्दा बाहिर गएर अभिव्यक्ति दिने स्वतन्त्रता कसैलाई पनि नभएको बताउनुभयो ।रासस

Facebook Comments