काठमाण्डौं, २०७९ असोज ३० गते आईतबार । वरिष्ठ संस्कृतिविद् तथा वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको पार्थिव शरीर ललितपुर महानगरपालिकामा राखिएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवासहित विशिष्ट पदाधिकारीले ललितपुर महानगरपालिकाको कार्यालय परिसरमा पुगेर श्रद्धाञ्जलि दिने कार्यक्रम छ । सर्वसाधारणले सोही स्थानमा श्रद्धाञ्जलि दिनुहुनेछ । १२ बजेपछि पुल्चोकस्थित ललितपुर महानगरपालिकाको कार्यालय परिसरमा अपराह्न ४ बजेसम्म श्रद्धाञ्जलिका लागि उहाँको पार्थिव शरीर राखिने प्रमुख चिरिबाबु महर्जनले जानकारी दिनुभयो ।

शताब्दी पुरुष जोशीले यसअघि नै अध्ययन अनुसन्धानका लागि आफ्नो पार्थिव शरीर किष्ट मेडिकल कलेज तथा शिक्षण अस्पताललाई दान दिने घोषणा गर्नुभएको थियो ।

अस्पतालको तर्फबाट गरिने प्रशासनिक तथा कानुनी प्रक्रिया पूरा भएपछि करिब १२ बजेसम्म जोशीको पार्थिव शरीर इमाडोलस्थित किष्ट मेडिकल कलेज तथा शिक्षण अस्पताल परिसरमा राखिएको थियो ।

उपचारका क्रममा केही दिनअघि अस्पतालमा भर्ना हुनुभएका शताब्दी पुरुष जोशीको आज बिहान एक सय तीन वर्षको उमेरमा निधन भएको हो ।