Wed. Dec 25th, 2024

चिनियाँ कम्युनिष्ट पार्टीको २० औँ महाधिवेशन आजदेखि सुरु

- चिनियाँ कम्युनिष्ट पार्टीको २० औँ महाधिवेशन, २०२२  

पैचिङ्ग, चीन २०७९ असोज ३० गते आईतबार । चिनियाँ कम्युनिष्ट पार्टीको २०औँ महाधिवेशन आजदेखि सुरु भएको छ ।

चीनको राजधानी पैचिंगस्थित जनबृहत सभा भवनमा भख्खरै सुरु भएको सो महाधिवेशनमा २ हजार ३ सय १० जना महाधिवेसन प्रतिनिधि र विशेष आमन्त्रित प्रतिनिधिहरुको सहभागिता रहने चाईना मिडिया ग्रुपले जानकारी दिएको छ ।

महाधिवेशन आयोजक समितिका प्रवक्ता सुन ये लीले दिनु भएको जानकारी अनुसार चिनियाँ कम्युनिष्ट पार्टीको २०औँ महाधिवेशनले पार्टीको विधान संशोधन गर्ने बताउनुभयो । उहाँले चिनियाँ कम्युनिष्ट पार्टीको महाधिवेशनमा पार्टीको सैद्धान्तिक आविष्कार र व्यवहारिक विकासको आवश्यकता अनुरुप पार्टी विधान संशोधन गर्ने अभ्यास भएको बताउनुभयो ।

प्रवक्ता सुनले भन्नुभयो, “चिनियाँ कम्युनिष्ट पार्टीको २०औँ महाधिवेशनपछि चिनियाँ कम्युनिष्ट पार्टीको २०औँ केन्द्रीय समितिको पहिलो पूर्ण अधिवेशन आयोजना हुनेछ । पहिलो पूर्ण बैठकपछि नयाँ राजनैतिक व्यूरोका स्थायी समितिका सदस्यहरूले चिनियाँ र विदेशी पत्रकारहरूसँग भेटघाट हुनेछ ।”

प्रवक्ता सुनले चिनियाँ कम्युनिष्ट पार्टीको १९औँ महाधिवेशनको आधारमा २०औँ महाधिवेशनले समग्रमा शक्तिशाली आधुनिक समाजवादी देश निर्माण गर्ने रणनीतिक व्यवस्थाका लागि बृहत् दृष्टिकोण बनाउने, आगामी पाँच वर्षमा रणनीतिक कार्यहरू र प्रमुख उपायहरूको तैनाथीमा ध्यान केन्द्रित गर्ने बताउनुभयो ।
यस महाधिवेशनमा पार्टीका वर्तमान महासचिव सी चिनफिङ पुनः तेस्रो कार्यकालका लागि निर्वाचित हुने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सञ्चारमाध्यहरुमा चर्चा रहेको छ ।

विश्वकै सवैभन्दा ठूलो र शक्तिशाली चिनियाँ कम्युनिष्ट पार्टीको एक हप्तासम्म चल्ने यस महाधिवेशनलाई विश्वभरीकै राजनीतिक विश्लेषकहरुले महत्वका साथ हेरिरहेका छन् ।

Facebook Comments