Sun. May 19th, 2024

सिरहाबाट अपहरित युवकको हत्यामा साथीहरूकै संलग्नता

भिओके समाचार/काठमाण्डौं, २०७९ असोज २८ गते शुक्रबार । सिरहाबाट अपहरित भएका एक युवकको हत्या भएको छ । हत्यामा युवाको आफ्नै साथीहरुको संलग्नता भेटिएको छ ।

सिरहाबाट अपहरण भएका १९ वर्षका अंशु सदाको हत्या विराटनगरमा भएको हो । सदाको हत्यामा प्रहरीले उनकै तीनजना साथीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय, मोरङका प्रमुख एसपी शान्तिराज कोइरालाले बताउनु भएको छ ।

घटना भएको स्थान न्यू अप्सरा गेष्ट हाउस ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा सिरहाका मनोज कार्की, राकेश यादव र विंसु मण्डल छन् । उनीहरुका थप एकजना साथी फरार छन् । सबै मृतकसँग चिनजान भएकै व्यक्तिहरु हुन् । प्रहरीका अनुसार उनीहरुले सदालाई २३ असोजमा मोरङ ल्याएको देखिएको छ । घटना भएको न्यू अप्सरा गेष्ट हाउसमा उनीहरु २४ गतेदेखि बसेको र हत्यापछि पनि उनीहरुले परिवारसँग फिरौती मागिरहेको अनुसन्धानमा संलग्न एक अधिकृतले जानकारी दिनुभएको छ ।

स्रोतका अनुसार उनीहरुले परिवारसँग एक लाख रुपैयाँ फिरौती मागेका थिए तर परिवारको आर्थिक अवस्था नाजुक भएका कारण त्यति रकम दिन सकेका थिएनन् । बिहीबार इलाका प्रहरी कार्यालय, गोलबजार पुगेर सदाकी आमा ललिताले खोजतलासका लागि निवेदन दिनुभएको थियो । निवेदन परेपछि प्राविधिक पक्षको विश्लेषण गरेर अनुसन्धान थालिएको सिरहा प्रहरी प्रमुख एसपी अर्जुनप्रसाद तिम्सिनाले जानकारी दिनुभएको छ ।

मोरङ प्रहरीका एक अनुसन्धान अधिकृतका अनुसार उनीहरुले फिरौती माग गरिरहेको थाहा पाएपछि परिवारबाट १० हजार रुपैयाँ हाल्न लगाइएको थियो । त्यही रकम लिन जाँदा तीन जना पक्राउ परेका थिए । त्यसपछि उनीहरुकै बयानका आधारमा प्रहरी शव भएको स्थानसम्म पुगेको स्रोतको भनाइ छ ।

हालसम्म प्राप्त तथ्य अनुसार फिरौतीकै कारण हत्या भएको हुनसक्ने देखिए पनि अन्य लेनदेन विवाद पनि हुनसक्ने आशंका गरिएको छ । प्रहरीका अनुसार मृतक र उनका साथीहरु लागूऔषध दुर्व्यसनी थिए ।

Facebook Comments