Sun. May 19th, 2024

बस दुर्घटनामा १६ जनाको मृत्यु, १५ जनाको सनाखत

- बाराको जितपुर सिमरामा बस दुर्घटना

सोमबार राति भारतको उत्तराखण्डस्थित नैनीताल जिल्लाको बेतालघाटमा सडक दुर्घटनामा परी मृत्यु भएका सात जना नेपालीको शव आज नेपाल ल्याइँदै ।         

हेटौँडा, २०७९ असोज २० गते बिहीबार ।पूर्व-पश्चिम राजमार्गअन्तर्गत बाराको जितपुर सिमरा उपमहानगरपालिका वडा नम्वर २२ मा बस दुर्घटना हुँदा १६ जनाको मृत्यु भएको छ ।

चितवनको नारायणगढबाट विरगञ्जतर्फ गइरहेको बागमती प्रदेश ०६-००१ ख ०११० नम्बरको बस सडकमा अनियन्त्रित भइ दुर्घटना भएको हो । दुर्घटनामा ३६ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक बामदेब गौतमले जानकारी दिनुभयो ।

दुर्घटनास्थलमा १० जना र उपचारका क्रममा ६ जनाको हेटौँडा अस्पतालमा मृत्यु भएको हो । घाइतेको हेटौँडा अस्पताल, चुरेहिल अस्पताल र मकवानपुर सहकारी अस्पतालमा उपचार भइरहेको छ । गम्भीर घाइतेलाई थप उपचारका लागि चितवन लगिएको छ । प्रहरीले दुर्घटनाको कारण बारे अनुसन्धान गरिरहेको छ । मृतकको सनाखत हुन बाँकी छ ।

भख्खरै प्राप्त समाचार अनुसार दुर्घटनामा मृत्यु भएका १६ जनामध्ये १५ जनाको सनाखत भएको छ । हेटौँडा अस्पतालमा उपचारका क्रममा मृत्यु भएका १२ जना, चुरेहिल अस्पतालमा २ जना, सहकारी अस्पतालमा १ जना र भरतपुर लैजाने क्रममा १ जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा बारा-कलैया उपमहानगरपालिकाका लीलाराज चौरसिया, चितवन खैरहनी नगरपालिका-५ की नन्दकुमारी पुडासैनी, चितवन कालिका नगरपालिकाका १५ वर्षीय बालक सफल कँडेल, चितवन खैरहनी-५ का मनोरथ पुडासैनी, बाराका ५५ वर्षीय राम आश्रय राय, पर्सा-१६ की मुन्ननी देवि चौरसिया, हेटौँडा-७ की करिब ५५ वर्षीया शुभलक्ष्मी श्रेष्ठ, सोही स्थानकी २० वर्षीया स्वस्तिका श्रेष्ठ, बारा-कलैया-१० का नगरिन खातुन, बारा-अमलेखगञ्जका सुरेश विक, बारा-कलैया का इन्ताज अन्सारी, ओखलढुङ्गाका करिब ४५ वर्षीय लालबहादुर बोगटी गोर्खाका अम्बिका कँडेल र पर्सा-१६ का सकेमप्रसाद चौरसिया रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

बसमा ५२ जना सवार रहेको खुलेको ट्राफिक प्रहरी कार्यालय मवानपुरका प्रहरी निरीक्षक मुनेन्द्र थापाले जनाउनुभयो । घाइतेमध्ये २१ जनालाई उपचारका लागि चितवन, आठ जनालाई वीरगञ्ज र पाँच जनाको हेटौँडा अस्पतालमा उपचार भइरहेको छ । चार जना भारतीय नागरिकलाई आफन्तले भारतमा नै लगेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।  रासस

Facebook Comments