Thu. May 16th, 2024

यसपालिको दशैँ तिहार गाउँमा !!

- भवानी न्यौपाने भावना

दाङ, २०७९ असोज १८ गते मंगलबार । 

✍️भवानी न्यौपाने भावना

आँगनी रातो माटोले लिप्नू
म पुरानो बस्तीमा आउँने छू
मेरा वालशखा चमेली सुन्तली,
मालती, असारीहरु खोज्न धाउँनेछू
सहर पसेदेखि
सोरठी, टप्पा देख्न नपाएका यी आँखा
निक्कै तल्लिन बनाउँनेछू
देउसी भैलो खेल्न नपाउँदा व्यग्र यो मन
यसपाली खेलेरै रमाउँनेछू
अब त बुढा भए होलान् सुन्तलाका बोटहरु
मलाई हुर्काएका कागती,
नास्पाती, ओखरहरु
ती सबैलाई भेटाउँनेछु
गाउँकी लाहुरेनी आमाले दिएको
सेलरोटी सम्झिरहेछु,
रोटेपिङको झड्काले सातो उडाउँदा
डाडाघरकी आमाले केही हुन्न फुच्चु भन्दै
आफ्नो गोधमा सुम्सुम्याएको
स्मृतिले घच्घच्याइरहन्छ
म यत्रतत्र स्नेहको तुल बिछ्याउँनेछू
गाउँले जन्म मात्र दियो
सहरले हुर्कायो तर
ममा आधुनिकताका नाममा
बिदेशी फेसन हुने छैनन् आमा
म गुन्यू चोलो लगाउनेछू
म र मेरो जिन्दगीले फलाएका यी
कलिला सन्तान लिएर आउँनेछू
मेरो प्रिय गाउँको पवित्र चौतारीमा बसी
मेरो कलमले रोपेका गजल, गीत सुनाउँनेछु
यसपाली म धेरै खुसीहरु बोकेर आउँनेछु
मलाई काखमा च्यापेर हिड्ने डिट्ठाबालाई
मेरो जिन्दगीका कथा सुनाउँनेछु
म बस्ती बस्ती पसेर शान्तिको धून बजाउँनेछू
बाँसुरी र मादलको तरङ्गमा
सुतेका बुढापाकाहरुलाई ब्युझाउँनेछू
हो यसपालिको दशैँ तिहार मनाउन म गाउँ आउँनेछू !!

Facebook Comments