Fri. May 17th, 2024

आज महाअष्टमी पर्व बलिसहित कालरात्रिको पूजा गरी मनाइँदै

भिओके समाचार/काठमाण्डौं, २०७९ असोज १७ गते सोमबार । आश्विन शुक्ल अष्टमीका दिनमा मनाइने महाअष्टमी पर्व आज नेपालीले वडादशैँका रुपमा दुर्गा भवानीको पूजाआराधना गरी भव्यरुपमा मनाउँदै छन् ।  बडादसैंको आठौं दिन आज महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजा-आराधना गरिन्छ ।

आजको दिन शास्त्रसम्मत रुपमा दसैंघर, कोतलगायत राज्यका विभिन्न शक्तिपीठमा पशु बलि दिई दुर्गाभवानीको विशेष पूजा गरिन्छ । दुर्गा सप्तशती, श्रीमद्देवीभागवत र देवीस्तोत्र पाठ गरिन्छ ।

आजैको राति पशुबलिको विधि र पूजा-आराधनासहित कालरात्रि  मनाइन्छ । कालरात्रिको पूजा विधि र सङ्कल्पसमेत छुट्टै हुने भएकाले यसको विशेष महत्त्व छ । आजका दिन काठमाडौँ उपत्यकाभित्रका शक्तिपीठ गुह्येश्वरी, मैतीदेवी, कालिकास्थान, भद्रकाली, नक्साल भगवती, शोभा भगवती, विजेश्वरी, इन्द्रायणी, रक्तकाली, वज्रयोगिनी, सङ्कटा, बज्रवाराही, दक्षिणकाली, चामुण्डा, सुन्दरीमाईलगायत मन्दिरमा पनि बिहानैदेखि भीड लाग्ने गर्दछ ।

यसै गरी काठमाडौं उपत्यकाबाहिरका नुवाकोटका जाल्पामाई र भैरवी, गोरखाको मनकामना, पर्साको गहवामाई, सप्तरीको छिन्नमस्ता भगवती, धनुषाको राजदेवी, डडेलधुराको उग्रतारा, काभ्रेपलाञ्चोकका चण्डेश्वरी, नाला भगवती र पलाञ्चोक भगवती, सिन्धुपाल्चोकको पाल्चोक भगवती, दोलखाको कालीञ्चोक भगवतीलगायत शक्तिपीठमा पनि भक्तजनको घुइँचो लाग्छ ।

आजका दिन कलपुर्जा, हातहतियार र सवारी साधनलाई विशेष रुपमा सरसफाइ गरी देवी स्थापना गरिएका स्थानमा राखी पूजाआजा गरिन्छ । यी साधनलाई देवीको शस्त्रास्त्रका रुपमा मानी पूजा गर्ने गरिएको हो । देवीका शस्त्रास्त्रसहित चतुरङ्गिणी सेनाको पनि आह्वान गरी पूजा गरिन्छ । पशुबलि नचढाउनेहरुले भने आज पूजाकोठामा आआफ्नो कुल परम्परानुसार काँक्रो, घिरौंला, कुभिन्डो, मूला, नरिवल आदि बलि चढाई पूजाआजा गर्छन् ।

Facebook Comments