Thu. May 16th, 2024

गोरखा दरबारबाट फूलपाती पठाइयो   

गोरखा, २०७९ असोज १६ गते आईतबार । गोरखा दरबारस्थित दशैंघरबाट काठमाण्डौंको हनुमानढोका दरबारका लागि फूलपातीसहितको डोली पठाइएको छ । विधिपूर्वक पूजाअर्चना गरी दरबारका सुसारेले आज बिहान ७ बजेर १० मिनेटको शुभसाइतमा फूलपातीसहितको डोली काठमाण्डौं पठाएका हुन् । फूलपातीको डोली बा २ झ ३८८२ नंको सरकारी गाडीमा राखेर हनुमानढोका दरबार पठाइएको गोरखा दरबार हेरचाह अड्डाका प्रमुख हरिप्रसाद भुसालले जानकारी दिनुभयो ।

गोरखाबाट पठाइएको फूलपाती हनुमानढोका दरबार पु-याइएपछि आज साँझ हर्षबढाइँका साथ हनुमानढोका दरबारमा फूलपाती भित्र्याउने प्रचलन रहँदै आएको छ । कार्यालयका कर्मचारीसमेत रहनुभएका चण्डीथानका पुजारी कुलबहादुर थापाको नेतृत्वमा हुनमानढोका दरबारमा फूलपाती पठाइएको कार्यालय प्रमुख भुसालले जानकारी दिनुभयो ।

तत्कालीन गोरखाका राजा पृथ्वीनारायण शाहले काठमाण्डौंको हनुमानढोका दरबारबाट राजकाज सुरु गरेदेखि बर्सेनि बडादशैंको सातौँ दिन गोरखा दरबारको दसँघरबाट फूलपातीसहितको डोली काठमाण्डौंको हनुमानढोका दरबार पु-याएर भित्र्याउने प्रचलन रहँदै आएको छ । गोरखा दरबारको दशैंघरबाट सतिपिपलस्थित फूलपाती चौतारासम्म फूलपातीको डोली दरबारका सुसारेहरूले बोकेर ल्याई त्यहाँबाट हनुमानढोका दरबार पठाउने प्रचलन रहँदै आएको छ ।

विधिपूर्वक दशैंघरबाट सतिपिपल चौतारासम्म ल्याएर गोरखाबाट फूलपातीको बिदाइ गरिएको उहाँले बताउनुभयो । गोरखा दरबारको दशैंघरमा पनि आजै साँझ फूलपाती भित्र्याइन्छ । गोरखा दरबार परिसरबाट गोरखा नगरपालिकाका नगरप्रमुख कृष्णबहादुर रानामगर, प्रमुख जिल्ला अधिकारी शङ्करहरि आचार्यलगायतले फूलपातीको बिदाइ गर्नुभएको थियो ।

त्यस्तै सतिपिपल चौताराबाट गण्डकी प्रदेशका ऊर्जा जलस्रोत तथा खानेपानीमन्त्री हरिशरण आचार्य, गोरखा नगरपालिकाका निवर्तमान नगरप्रमुख राजनराज पन्तलगायतले हनुमानढोका दरबारका लागि फूलपाती बिदाइ गर्नुभएको हो । रासस

Facebook Comments