Thu. Dec 26th, 2024

युक्रेनका केही भाग गाभ्ने रुसी निर्णयको फ्रान्स र अमेरिकाद्वारा तीव्र आलोचना

पेरिस, २०७९ असोज १५ गते शनिबार ।  फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले शुक्रबार युक्रेनी भू-भाग रुसद्वारा गाभिएको कार्यको निन्दा गर्दै यसलाई अन्तरराष्ट्रिय कानून र युक्रेनी सार्वभौमसत्ताको गम्भीर उल्लङ्घन भएको बताउनुभएको छ ।

उहाँले यो कदमको फ्रान्सले विरोध गरेको र आफ्नो भू-भाग फिर्ता लिन रुस विरुद्धको युद्धमा युक्रेनको साथमा रहेको समेत प्रतिबद्धता व्यक्त गर्नुभएको छ । उहाँले ट्वीट गर्दै लेख्नुभएको छ- ‘रुसको चार युक्रेनी क्षेत्र गाभ्ने कदम अवैध भएको, यसले अन्तरराष्ट्रिय कानून र युक्रेनी सार्वभौमिकता को गम्भीर उल्लङ्घन गरेको छ ।’

“फ्रान्सले यसको विरोध गर्दछ, रुसी आक्रमणको सामना गर्न र युक्रेनलाई आफ्नो सम्पूर्ण भू-भागमा पूर्णस्वामित्व स्थापित गर्न, सार्वभौमसत्ता पुनःप्राप्त गर्ने कदममा युक्रेनको साथमा उभिनेछ,” उहाँले ट्वीटरमा लेख्नुभएको छ ।

रुसी कदमको पश्चिमबाट व्यापक आलोचना    

राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनको चार क्षेत्रलाई विलय गर्ने घोषणा गरेपछि संयुक्त राज्य अमेरिकाले शुक्रबार रुसलाई “छिटो र गम्भीर मूल्य” चुकाउनुपर्ने चेतावनी दिएको छ ।

उक्त कदमलाई “अवैध“ भन्दै अमेरिकी राष्ट्रपति जो बाइडेनले अमेरिकाले सधैं युक्रेनको अन्तरराष्ट्रिय मान्यता प्राप्त सिमानाको सम्मान गर्ने र सैन्य र कूटनीतिक रूपमा आफ्नो देशलाई बलियो बनाएर आफ्नो क्षेत्रको नियन्त्रण पुनःप्राप्त गर्ने युक्रेनी प्रयासलाई समर्थन जारी राख्ने बताउनुभएको छ । एजेन्सी

Facebook Comments