Fri. Apr 19th, 2024

बडादशैंको चौथो दिन आज कूष्माण्डा देवीको पूजाआजा गरिँदै

कूष्माण्डा-देवी

भिओके समाचार/काठमाण्डौं, २०७९ असोज १३ गते बिहीबार । नेपालीहरूको महान चाड बडादशैँको चौथो दिन आज देशैभरका शक्तिपीठ, देवीमन्दिर तथा घरघरका पूजाकोठाहरूमा देवीभवानी कूष्माण्डा माताको पूजा आराधना गरिंदै छ ।

कूष्माण्डा मातालाई शुभकर्म थालनी वा सृष्टिको प्रतीकको रुपमा पूजा गरिन्छ । देवी कूष्माण्डाले ब्रह्माण्डको सृष्टि गरी पृथ्वी रचनाका लागि सूर्य भगवानलाई आफ्नो तापशक्ति दिएर प्रज्वलित बनाएको र अन्य ग्रहको समेत रचना गरी पूरै सौर्यमण्डल सञ्चालन गरेको देवीभागवत् लगायतका ग्रन्थहरूमा उल्लेख छ ।

कूष्माण्डाको लौकिक अर्थ कुभिण्डो हो । उष्ण हावापानीको प्रकृतिमा हुर्किने तर भित्री गुण शीतप्रद हुने फल कुभिण्डोलाई कूष्माण्डा देवीको प्रतीक मानेर दशैँमा यसको पूजाआजा गर्ने चलन छ ।

नवरात्रभर देशका विभिन्न शक्तिपीठहरूमा दर्शन गर्न भक्तजनको घुइँचो लाग्ने गर्छ । विशेषगरी काठमाडौंको नक्साल भगवती, शोभा भगवती, भद्रकाली, काभ्रेको नाला भगवती, काभ्रेको पलाञ्चोक भगवती मन्दिर, ताप्लेजुङको पाथीभारा, धरानको दन्तकाली, गोरखाको मनकामना, सप्तरीको छिन्नमस्ता, पोखराको विन्ध्यावासिनी, भोजपुरको सिद्धकाली मन्दिरमा विशेष पूजा आराधना हुने गर्छ ।

Facebook Comments