Fri. Apr 26th, 2024

बडादशैंको तेस्रो दिन आज चन्द्रघण्टादेवीको पूजा गरिँदै

भिओके समाचार/काठमाण्डौं, २०७९ असोज १२ गते बुधबार । बडादशैंको तेस्रो दिन आज चन्द्रघण्टादेवीको पूजा गरी मनाइँदै छ ।

काठमाण्डौको गुह्येश्वरी, मैतीदेवी, दक्षिणकाली, कालीकास्थान, शोभा भगवती, बिजेश्वरी, नक्साल भगवती, भद्रकाली र इन्द्रायणी, विराटनगरको कालीमन्दिर, सप्तरीको छिन्नमस्ता तथा सखडा भगवती, भोजपुर र संखुवासभाको सिद्धकाली, धरानको दन्तकाली, ताप्लेजुङको पाथीभरा, गोरखाको मनकामना लगायत देशैभरका शक्तिपीठहरुमा दर्शनार्थीको भीड लाग्ने गरेको छ । देवीको मस्तकमा चन्द्राकार घण्ट सुशोभित भएका कारण आज पूजिने देवीलाई चन्द्रघण्टा भनिएको हो ।

धार्मिक मान्यता अनुसार चन्द्रघण्टा देवीको रूपको पूजाले मानिसले राक्षसी तथा भूतप्रेत आदि अनिष्ट शक्तिबाट उन्मुक्ति पाउँछन् भन्ने विभिन्न शास्त्रमा उल्लेख छ । बडादशैंको चौथो दिन कूष्माण्डा, पाँचौं दिन स्कन्दमाता, छैटौं दिन कात्यायनी, सातौँ दिन कालरात्रि, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजा गर्ने गरिन्छ ।

नवदुर्गा मध्येकी तेस्रो देवी चन्द्रघण्टाले हातमा चन्द्रमाको आधार भएको घण्ट लिने भएकाले नै यिनको नाम चन्द्रघण्टा रहन गएको भन्ने विभिन्न पौराणिक एवं धर्मशास्त्रीय ग्रन्थमा उल्लेख गरिएको छ ।

चन्द्रघण्टा देवीले शिरमा अर्धचन्द्रका साथै घण्ट पनि धारणा गर्ने भएकाले यो नाम रहन गएको हो । नवरात्रका नौ दिन घटस्थापना गरिएको स्थलमा दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवी भागवतलगायत देवी स्तोत्र पाठसमेत गरिन्छ ।

Facebook Comments