Wed. May 8th, 2024

सडक  दुर्घटनामा २३ जना महिलाको मृत्यु 

लुकासा , २०७९ असोज ५ गते बुधबार । सवारी दुर्घटनामा परी जाम्बियामा २३ जना महिलाको मृत्यु भएको छ । देशको उत्तरी क्षेत्रमा पर्ने न्सामा जिल्लामा भएको घटनामा अरु ३५ जना घाइते भएको स्थानीय अधिकारीहरूले जानकारी दिएका छन् ।

भार क्षमताभन्दा बढी यात्रु बोकेकाले ट्रक दुर्घटना भएको प्रहरीले प्रारम्भिक अनुसन्धानबाट पत्ता लगाएको छ ।  दुर्घटनामा परेको ट्रकमा ५८ जना यात्रु थिए । अत्यधिक यात्रु भएकाले गुडिरहेको ट्रक अनियन्त्रित भइ पहाडबाट तल खसेको हो । सडक यातायात तथा सुरक्षा निकायका प्रमुख कार्यकारी अधिकृत अलिनानी मिसिस्याले पनि क्षमताभन्दा धेरै यात्रु बोकेकाले ट्रक दुर्घटनामा परेको पुष्टि गर्नुभयो ।

दुर्घटनामा परेको ट्रकमा रहेका यात्रु सबै युनाइटेड चर्च अफ जाम्बियाबाट फर्किदै गरेको पनि उहाँले जानकारी दिनुभयो । घटनाका बारेमा जानकारी पाउने बित्तिकै सुरक्षाकर्मी तथा स्वयंसेवक घटनास्थलमा पुगेर खोजी तथा उद्धार गरेको उहाँले बताउनु भयो ।

घटनामा बारेमा अनुसन्धान सुरु गरिसकिएको पनि उहाँले जानकारी दिनुभयो । घटनाका बारेमा विस्तृत अध्ययन गरी तयार पारिएको प्रतिवेदन सार्वजनिक गरिने पनि उहाँको भनाई छ ।

घटनाप्रति जाम्बियाका राष्ट्रपति हाकाइन्डे हिचिलेमाले गहिरो दुःख व्यक्त गर्नु भएको छ । उहाँले मृतकका आफन्तजनप्रति सहानुभूति पनि प्रकट गर्नु भएको समाचार सिन्ह्वालाई उद्धत गर्दै राससले लेखेको छ ।

Facebook Comments