Sat. May 4th, 2024

चीन र नेपालबीचको आपसी मित्रता दिन प्रतिदिन बढ्दै गइरहेको छ: राष्ट्राध्यक्ष सी

काठमाण्डौं, २०७९ असोज ४ गते मंगलबार । चीनका राष्ट्राध्यक्ष सी चिनफिङले चीन र नेपालबीचको आपसी मित्रता दिनप्रतिदिन बढ्दै गइरहेको बताउनु भएको छ ।

संविधान दिवस, २०७९ को अवसरमा सेप्टेम्बर २० तारिखका दिन राष्ट्राध्यक्ष सीले राष्ट्रपति विद्यादेवी भण्डारीलाई पठाउनु भएको शुभकामना सन्देशमा सो कुरा उल्लेख गरिएको छ ।

सन्देशमा सीले भन्नु भएको छ, “चीन र नेपाल पहाड र नदीद्वारा जोडिएका असल छिमेकी हुन् । अन्तर्राष्ट्रिय परिस्थितिमा परिवर्तन देखिए तापनि हामी दुई देश सँधै एकले अर्काको सम्मान, समर्थन र मित्रवत् व्यवहार गर्ने गर्छौं । बेल्ट एण्ड रोड अवधारणाको संयुक्तरुपमा उच्च गुणस्तरीय निर्माण गर्दै हामीले कोभिड महामारीको चुनौतीको मिलेर सामना गरिरहेका छौँ । यसै क्रममा आपसी राजनैतिक विश्वास तथा परम्परागत मित्रता दिनप्रतिदिन बढ्दै गइरहेको छ । चीन नेपाल सम्बन्धको विकासमा उच्च महत्व दिँदै राष्ट्रपति विद्यादेवी भण्डारीसँगै मिलेर विकास र समृद्धि उन्मुख युगौयुगसम्म चल्ने मैत्रीपूर्ण रणनैतिक सहयोगात्मक साझेदारी सम्बन्धलाई नयाँ चरणमा पुर्याउने मेरो इच्छा छ ।”

यसैगरी चीनका प्रधानमन्त्री ली खछ्याङले प्रधानमन्त्री शेरबहादुर देउवालाई संविधान दिवसको अवसरमा शुभकामना सन्देश पठाउँनुहुँदै चीन र नेपालबीचको आपसी सम्बन्ध स्वस्थ र स्थिर रूपमा अघि बढिरहेको बताउनु भएको छ ।

साथै प्रधानमन्त्री लिले प्रधानमन्त्री देउवासँग मिलेर दुई देशको विकासका रणनीतिलाई गहन रूपमा जोड्दै पारस्परिक सम्बन्धको विकासबाट दुई देश र दुई देशका जनताको अझ बढी हित कल्याण गर्ने आफ्नो इच्छा रहेको सन्देशमा उल्लेख गर्नुभएको छ । सीआरआई

Facebook Comments