Sun. May 19th, 2024

वरिष्ठ पत्रकार देवेन्द्र गौतमको निधन

काठमाण्डौं, २०७९ असोज २ गते आईतबार । वरिष्ठ पत्रकार देवेन्द्र गौतमको निधन भएको छ । भक्तपुर निवासी ७८ वर्षीय गौतमको उपचारका क्रममा आज ललितपुरको ग्वार्कोस्थित बीएण्डबी अस्पतालमा निधन भएको हो ।

नयाँ करेन्ट साप्ताहिकका सम्पादक एवं प्रकाशक गौतमलाई न्युमोनिया देखिएपछि सघन उपचार कक्ष (आइसियू) र पछि भेन्टिलेटरमा राख्नु परेको थियो ।

सम्पादक समाज नेपालका पूर्व अध्यक्ष, नेपाल पत्रकार महासंघका का.वा. सभापति ७७ वर्षीय गौतमलाई कोभिड संक्रमणबाट मुक्त भएपछि पनि श्वासप्रश्वासमा गाह्रो भएपछि अस्पतालमा भर्ना गरिएको थियो ।

नेपाल टलिभिजनका अनुसार पाँच दशक लामो सक्रिय र स्वतन्त्र पत्रकारिता जीवनमा उहाँले सदा प्रजातन्त्रका पक्षमा कलम चलाउनुभएको थियो । पञ्चायत कालमा अभिव्क्ति स्वतन्त्रताका पक्षमा उभिँदा उहाँबाट सम्पादन र प्रकाशन हुने झण्डै एक दर्जन पत्रिकालाई प्रशासनले रोक लगाएको थियो ।

२०४२ को बम काण्डका बेला रामराजाप्रसाद सिंहको भाषण अंश छापेको निहुँमा उहाँलाई छ महिना हनुमानढोकामा थुनिएको थियो । त्यहीँको अनुभवमा उहाँले अनुसन्धानभित्रको अनुसन्धान पुस्तक लेख्नुभयो । उहाँलाई नेपाल सरकारले सुप्रबल जनसेवाश्री पदक प्रदान गरेको छ ।

उहाँको अन्त्येष्टि आजै पशुपति आर्यघाटमा गरिएको छ ।

Facebook Comments