Fri. Jan 3rd, 2025

चिनियाँ राष्ट्रिय जनकंग्रेसका अध्यक्ष ली चान्सु आज स्वदेश फर्कनुहुँदै   

चिनियाँ राष्ट्रिय जनकंग्रेसका अध्यक्ष ली चान्सु

काठमाण्डौं, २०७९ भदौं ३० गते बिहीबार । प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाको मैत्रीपूर्ण निमन्त्रणामा नेपालको चार दिने भ्रमणमा आउनुभएका चिनियाँ राष्ट्रिय जनकंग्रेसका अध्यक्ष ली चान्सु आज स्वदेश फर्कनुहुने भएको छ ।

परराष्ट्र मन्त्रालयका अनुसार उहाँ आज बिहान स्वदेश फर्कन लाग्नुभएको हो । बुधबार मात्रै उहाँले राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेटवार्ता गर्नुभएको थियो । राष्ट्रपतिको कार्यालयमा भएको प्रतिनिधिमण्डलस्तरीय भेटवार्तामा उहाँहरुबीच द्विपक्षीय आपसीहितका विविध विषयमा कुराकानी भएको थियो ।

अध्यक्ष ली सोमबार विशेष विमानबाट काठमाडौँ आइपुग्नुभएको थियो । बुधबार बिहान मात्रै चिनियाँ नेता ली नेतृत्वको प्रतिनिधिमण्डलले भक्तपुर दरबार क्षेत्रमा भूकम्पपछिको पुनःनिर्माण परियोजनाको अवलोकन र निरीक्षण तथा स्थानीय कला संस्कृतिको अवलोकन गरेको थियो ।

भ्रमणको पहिलो दिन सोमबार सभामुख सापकोटा र अध्यक्ष लीले संसद् भवन नयाँ बानेश्वरमा संसदीय प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्ता गरी सहयोगसम्बन्धी छ बुदे सम्झौतापत्रमा हस्ताक्षर भएको थियो ।

प्रधानमन्त्री शेरबहादुर देउवासँग उहाँले मङ्गलबार अपराह्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा शिष्टाचार भेटवार्ता गर्नुभएको थियो । प्रतिनिधिमण्डलस्तरीय भेटवार्तामा उहाँहरुबीच द्विपक्षीय व्यापार, लगानी, कनेक्टिभिटी, चीनमा अध्ययनरत नेपाली विद्यार्थीको अध्ययन निरन्तरताका लागि फिर्ता, यात्रु उडान सुचारु गर्ने, सीमा बन्दरगाह खोल्नेलगायत आपसीहितका विविध विषयमा छलफल भएको थियो ।

मङ्गलबार नै अध्यक्ष ली र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाबीच शिष्टाचार भेटवार्ता भएको थियो । सो अवसरमा नेपाल–चीन सम्बन्धका विभिन्न विषयमा अन्तरसंसदीय आदानप्रदान र सहकार्यका विषयमा छलफल भएको थियो ।

सोही दिन नै अध्यक्ष ली र प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीबीच शिष्टाचार भेटवार्ता भएको थियो । सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा सोही दिन नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग अध्यक्ष लीले शिष्टाचार भेटवार्ता गर्नुभएको थियो । भेटवार्तामा द्विपक्षीय आपसीहितका विविध विषयमा छलफल भएको थियो ।

मङ्गलबार दिउँसो परराष्ट्रमन्त्री डा नारायण खड्काले अध्यक्ष लीसँग शिष्टाचार भेटवार्ता गर्नुभएको थियो । भेटवार्तामा दुई पक्षबीच नेपाल-चीन सम्बन्धका विभिन्न पक्षमा विचार आदानप्रदान भएको थियो । अध्यक्ष ली नेतृत्वमा छ जना चिनियाँ उच्च अधिकारी, सुरक्षाकर्मी, सञ्चारकर्मी र अन्य स्टाफसहित ६७ सदस्यीय प्रतिनिधिमण्डल रहेको मन्त्रालयले जनाएको छ । अध्यक्ष ली भ्रमण सम्पन्न गरी आज बिहान बिहान विशेष विमानबाटै स्वदेश फर्कनुहुने कार्यक्रम छ ।

Facebook Comments