Sat. May 18th, 2024

बाल प्रज्ञा-प्रतिष्ठान स्थापना गर्नुपर्छ : राष्ट्रपति   

काठमाण्डौं, २०७९ भदौं २९ गते बुधबार । राष्ट्रपति विद्यादेवी भण्डारीले बालसाहित्यको जगेर्ना गर्नका लागि बाल प्रज्ञा–प्रतिष्ठान स्थापना गर्नुपर्ने बताउनुभएको छ । राष्ट्रपति भवन शीतल निवासका ५८ औँ राष्ट्रिय बालदिवसका अवसरमा आयोजित कार्यक्रममा उहाँले बाल साहित्यसम्बन्धी छुट्टै बाल प्रज्ञा–प्रतिष्ठान बनाउने प्रक्रिया अघि बढाइएको जानकारी दिनुभयो ।

राष्ट्रपति भण्डारीले बाल प्रज्ञा–प्रतिष्ठान स्थापनका लागि नेपाल बाल सङ्गठनलगायत बालबालिकाका क्षेत्रमा काम गर्नेसँग छलफल भइरहेको उल्लेख गर्नुभयो । आफ्नो कार्यक्षेत्रअनुसार बालबालिकाको क्षमता अभिवृद्धिमा सबैले ध्यान दिनुपर्ने उहाँको भनाइ छ । “बालिबालिकाको आफ्नो क्षेत्र र दृष्टिकोण पनि फरक हुने गर्दछन् र सोहीअनुसार बालबालिकाको क्षमता अभिवृद्धिमा महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलगायतका अरु पनि सङ्घसंस्था ध्यान दिनुपर्छ”, उहाँले भन्नुभयो ।

उहाँले बालबालिकामा भएको सिर्जनालाई व्यवहारमा प्रयोग गर्न सहयोग गर्नुपर्नेसमेत बताउनुभयो । कार्यक्रममा राष्ट्रपति भण्डारीले बालबालिकाले प्रस्तुत गरेका साहित्य सिर्जना हेर्नुभएको थियो । उहाँले आज केही बालबालिकाले प्रस्तुति गर्न नपाएको भन्दै अर्को पटक राम्रो तयारी गरेर उत्कृष्ट प्रस्तुति गर्न आग्रह गर्नुभयो । रासस

Facebook Comments