Mon. Jan 6th, 2025

दुई वर्षमा कोही पनि भूमिहीन रहँदैनन् : मन्त्री श्रेष्ठ   

फाइल फोटो

सप्तरी, २०७९ भदौं २९ गते बुधबार । भूमिसुधार, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठले दुई वर्षभित्र सबै भूमिहीनलाई जग्गा उपलब्ध हुने बताउनुभएको छ । सप्तरीको अग्निसाइर कृष्णासवरण गाउँपालिका–४ मा भूमिहीनहरूलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गर्ने कार्यक्रममा उहाँले भूमि आयोग गठन भएपछि ४९ हजार जग्गाविहीन जग्गाको मालिक भएको जानकारी दिनुभयो ।

भोटसँग लालपुर्जा साट्नु नहुने उल्लेख गर्दै मन्त्री श्रेष्ठले लालपुर्जासँग कसैले भोटको राजनीति गरेमा प्रतिवाद गर्न आग्रह गर्नुभयो । निर्वाचन आचारसंहिताको बहानामा पनि लालपुर्जा वितरण नरोकिने बताउँदै उहाँले जग्गा वितरण नियमित प्रक्रिया भएकाले जिल्ला भूमि आयोगले जहिले पनि वितरण गर्न सक्ने बताउनुभयो ।

अग्निसाइर कृष्णसवरण गाउँपालिकाका अध्यक्ष दीनानाथ चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा वडा नं ४ का ८५ जना भूमिहीन घरपरिवारलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिएको छ । कार्यक्रममा मधेस प्रदेश सरकारका सामाजिक विकासमन्त्री नवलकिशोर साह, प्रतिनिधिसभा सदस्य डाक्टर सूर्यनारायण यादव, राष्ट्रिय भूमि आयोग नेपालका अध्यक्ष केशव निरौला, उपाध्यक्ष महेन्द्र खडका लगायतले मन्तव्य व्यक्त गर्नुभयो । रासस

Facebook Comments