Fri. May 17th, 2024

केन्यासँगको पहिलो टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाल पाँच विकेटले विजयी

काठमाण्डौं, २०७९ भदौं ९ गते बिहीबार । केन्यासँगको पहिलो टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाल पाँच विकेटले विजयी भएको छ ।

नैरोबीको जिमखाना मैदानमा केन्याले दिएको एक सय ३१ रनको लक्ष्य नेपालले चार बल बाँकी छँदै पाँच विकेट गुमाएर भेटाएको हो ।

नेपालका लागि दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ३३ रन बनाउनुभयो । यस्तै ज्ञानेन्द्र मल्ले २३, आशिफ शेखले १९, रोहित पौडेलले १२ र पवन सर्राफले एक रन बनाउनुभयो । आरिफ शेख २० र आदिल अन्सारी दुई रनमा नटआउट रहनुभयो ।

यसअघि पहिले ब्याटिङ गरेको केन्याले २० ओभरमा आठ विकेट गुमाएर एक सय ३० रन बनायो । उसका लागि इरफान करिमले ३४ र लुकाउ ओलाउचले १२ बलमा नटआउट ३० रन बनाउनुभयो । बलिङतर्फ नेपालका सोमपाल कामीले तीन, सन्दीप लामिछानेले दुई तथा अदिल अन्सारी र दीपेन्द्रसिंह ऐरीले एक/एक विकेट लिनुभयो ।

नेपाल र केन्याबीचको दोस्रो टी-२० खेल भोलि शुक्रवार, तेस्रो भदौ १२ गते, चौथो भदौ १३ मा र पाँचौँ खेल भदौ १४ गते हुनेछ । त्यस्तै नेपालले केन्यासँग तीन एकदिवसीय अभ्यास खेल पनि खेल्ने तालिका छ । तीन एकदिवसीय अभ्यास खेल भदौ १७, १८ र २० गते हुनेछ ।

Facebook Comments