Sat. May 18th, 2024

केरुङ-काठमाडौं रेलमार्ग सम्भाव्यता अध्ययनमा चिनियाँ अनुदान

भिओके समाचार/काठमाण्डौं, २०७९ साउन २६ गते बिहीबार । उत्तरी छिमेकी मित्रराष्ट्र चीनले केरुङ-काठमाडौं रेलमार्गको सम्भाव्यता अध्ययनका लागि अनुदान सहयोग उपलब्ध गराउने भएको छ । चीन भ्रमणमा रहनु भएका परराष्ट्र मन्त्री डा. नारायण खड्का नेतृत्वको प्रतिनिधि मण्डलसँग बुधबार चिनियाँ शहर छिङताओमा भएको दुई पक्षीय वार्तामा चिनियाँ विदेश मन्त्री वाङ यीले अनुदानमा रेलमार्गको सम्भाव्यता अध्ययन गरिदिने घोषणा गर्नुभएको हो ।

नेपाललाई भौतिक पूर्वाधार, विपद् व्यवस्थापन र स्वास्थ्य सामग्री लगायतका विभिन्न शीर्षकमा चीनले १५ अबै रुपैयाँँभन्दा बढी सहयोग गर्ने भएको छ । वार्ता क्रममा नेपाली पक्षले रासायनिक मल उपलब्ध गराइदिन र नेपालमा रासायनिक मल कारखाना सञ्चालनको सम्भाव्यता अध्ययन गरिदिन चीनलाई अनुरोध गरेको थियो । चिनियाँ पक्षले उक्त अनुरोधलाई सकारात्मक रूपमा लिँदै सक्दो सहयोग गर्ने बताएको थियो ।

भेटवार्तामा नेपाल-चीन सम्बन्ध र सहयोगका समग्र पक्षको समीक्षा गर्दै व्यापार सञ्जाल विस्तार, लगानी, कृषि, विपद् व्यवस्थापन, शिक्षा, संस्कृति लगायतका क्षेत्रमा सहयोगलाई थप पर्वद्धन गर्ने सहमति भएको पेइचिङस्थित नेपाली दूतावासले जनाएको छ ।

दूतावासका अनुसार चीन र नेपालबीच १ दर्जनभन्दा बढी विषयमा सम्झौता भएका छन् । चीनले काठमाडौंको चक्रपथ सुधार आयोजनाको दोस्रो चरणको निर्माण कार्य पनि छिट्टै सुरु गर्ने आश्वासन दिएको छ । विदेशमन्त्री वाङले यसअघि सन् २०२२ को मार्चमा नेपाल भ्रमणमा सहमति गर्नुभएको नेपाल-चीन क्रस बोर्डर प्रशारण लाइनको पूर्वसम्भाव्यता अध्ययनका लागि पनि सहयोग गर्ने आश्वासन दिनुभएको छ ।

परराष्ट्र मन्त्री डा. खड्काले नेपाल सधैं एक चीन नीतिको पक्षमा रहेको भन्दै नेपाली भूमि चीनविरूद्ध प्रयोग हुन नदिने प्रतिबद्धता दोहोर्‍याउनु भएको थियो । चिनियाँ समकक्षी यीले नेपालको सार्वभौम सत्ता, स्वतन्त्रता र भौगोलिक अखण्डताका लागि निःशर्त निरन्तर सहयोग गर्ने कुरामा जोड दिँदै नेपाल सरकारले बनाएका प्राथमिकताको आधारमा विकास कार्यमा सघाउने बताउनु भएको थियो । वार्ताका क्रममा दुई देशको सम्बन्धका विभिन्न आयामहरूबारे छलफल भएको नेपाली दूतावासले जनाएको छ ।

कोरोना महामारीविरूद्ध लड्न चीनले थप सहायता दिने, नाकाहरूको सञ्चालन, चीनमा एमबिबिएस पढिरहेका विद्यार्थीलाई फेरि चीन जाने वातावरण बनाउने लगायत विषयमा पनि कुरा भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

मंगलबार राती चीन गएको परराष्ट्र मन्त्री डा. खड्का नेतृत्वको टोली बिहीबार स्वदेश फर्किने कार्यक्रम छ।

Facebook Comments