Sun. May 19th, 2024

झापाली आन्दोलनका अग्रज तथा कम्युनिष्ट नेता ईन्दिरा चापागाईको निधन

रमेश हतुवाली/काठमाण्डौं, २०७९ साउन २३ गते सोमबार । झापाली आन्दोलनका अग्रज तथा कम्युनिष्ट नेता ईन्दिरा चापागाईको निधन भएको छ ।

नेकपा एमालेका केन्द्रीय सल्लाहकार परिषद सदस्य चापागाईको आज साँझ ७ः१५ बजे उहाँकै निवास झापाको दमक नगरपालिका वडा नं.५ मा निधन भएको हो । ८७ वर्षीय चापागाई पार्टीकी आमा’ समेत भनेर चिनिनु हुन्थ्यो । भूमिगत कालमा पार्टीका नेताहरुलाई आश्रय दिनुभएकी चापागाईलाई सबैले आमा भन्ने गरेका थिए । पञ्चायतकालका २० वर्षसम्म चापागाई अनेम संघ दमक नगर कमिटीकी अध्यक्ष हुनुहुन्थ्यो । हाल ज्येष्ठ कम्यूनिष्ट मञ्चकी सदस्य र केन्द्रीय सल्लाहकार परिषद सदस्य हुनुहुन्थ्यो । नेता चापागाईका नाति डा.नविन चापागाईका अनुसार ईन्दिरा चापागाई दम र मुटुकी रोगी हुनुहुन्थ्यो ।

परिवारकासाथ इन्दिरा चापागाई

जीवनभर निस्वार्थरुपमा नेपाली समाजलाई कम्युनिष्ट विचारधारामार्फत सही दिशा दिन पुर्याएको योगदानको कदर गर्दै चापागाईलाई नेपाल सरकारले २०७७ सालमा सुप्रवल जनसेवा श्री पदक प्रदान गरेको थियो । चापागाईका श्रीमान मोहन चापागाईलाई कम्यूनिष्ट पार्टीमा लागेको आरोपमा इलाममा प्रहरीले कुटेर २०१५ सालमा हत्या गरेको थियो । सो घटनाको इन्दिरा चापागाईले संगठीत रुपमा विरोध गर्नुभएको थियो ।

जीवनमा जस्तोसुकै आपत आएपनि सतीसाल झै अटल ईन्दिरा चापागाईले सँधै इमान र निष्ठाको राजनीति गर्नुभयो । राजनीति गर्नेहरुमा देश र जनता प्रतिको इमान मर्दै गएको यो समयमा पार्टीलाई सत्ता प्राप्तिको भर्याङ बनाउनेहरुका विरुद्ध ईन्दिरा चापागाई इमानको प्रतिमूत्ति हुनुहुन्थ्यो । जनताको पक्षमा लड्नेहरुका लागि इन्दिरा चापागाई विश्वास र हिम्मतको ध्रुवतारा हुनुहुन्थ्यो ।

वि.सं.२०१५ सालदेखि कम्यूनिष्ट पार्टीमा सक्रिय हुनुभएकी ईन्दिरा चापागाईको दमक १५ स्थित पुरानो घरमा वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी, जननेता मदन कुमार भण्डारी, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, अष्टलक्ष्मि शाक्य, प्रदीप नेपाल लगायतका नेताहरुले पञ्चायती कालरात्रीमा सेल्टर लिने गर्नुभएको थियो ।

झापास्थित माईनदीमा मंगलबार बिहान १० बजे चापागाईको हिन्दू परम्परा अनुसार दाहसंस्कार गरिने कार्यक्रम रहेको उहाँको पारिवारिक श्रोतले जानकारी दिएको छ ।

कम्युनिष्ट आन्दोलनलाई जीवनभर विचलित हुन नदिई गन्तब्यमा पुर्याउन अहंभूमिका निर्वाह गर्नुभएका श्रद्धेय नेता ईन्दिरा चापागाईलाई भ्वाईस अफ काठमाण्डौं मिडियाको तर्फबाट हार्दिक श्रद्धाञ्जली !!

Facebook Comments