Wed. Dec 25th, 2024

सप्तरीमा करेन्ट लागेर ससुरा-बुहारीसहित तीन जनाको मृत्यु

काठमाण्डौं, २०७९ साउन १९ गते बिहीबार । सप्तरीमा करेन्ट लागेर ससुरा–बुहारीसहित तीन जनाको मृत्यु भएको छ । कञ्चनरुप नगरपालिकामा गएराति करेन्ट लागेर दुई जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा कञ्चनरुप-६ का ४० वर्षीय सौदानन्द सरदार र २० वर्षीया अन्जली सरदार छन् । उनीहरु ससुरा-बुहारी हुन् । इलाका प्रहरी कार्यालय कंचनपुरका प्रहरी नायब उपरीक्षक रामकुमार यादवका अनुसार सात महिनाकी गर्भवती अन्जली आफ्नै आँगनमा मोटर जडान गरिएको ट्युबेलमा पानी लिन जाँदा करेन्ट लागेको हो ।

नेपाल टेलिभिजनका अनुसार अचेत भएकी बुहारीलाई छुटाउन गएका सौदानन्दलाई समेत करेन्ट लागेको थियो । दुवै जनाको घटनास्थलमा नै मृत्यु भएको यादवले बताउनुभयो ।

यस्तै सप्तरीको राजगढ गाउँपालिका-२ कमलपुरमा ५६ वर्षीय शिवशङ्कर साहको समेत करेन्ट लागेर मृत्यु भएको छ । आफ्नै घरको आँगनमा रहेको चापाकलमा जडान गरिएको मोटरमा पानी तान्ने क्रममा उनलाई करेन्ट लागेको हो ।

Facebook Comments