Wed. Dec 25th, 2024

झापामा नागरिकताको प्रमाणपत्र लिने दोब्बरले बढे

झापा, २०७९ साउन १५ गते आइतबार । जिल्ला प्रशासन कार्यालय झापाबाट आर्थिक वर्ष २०७८-७९ मा नागरिकता लिनेको सङ्ख्या गत आर्थिक वर्षको तुलनामा दोब्बर भएको प्रशासनले जनाएको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी चोमेन्द्र न्यौपानेले गत असार मसान्तसम्ममा ३१ हजार ३१ जनाले नागरिकताको प्रमाणपत्र लिएको जानकारी दिनुभयो । नागरिकता लिनेमध्ये वंशजका आधारमा २० हजार २४१, वैवाहिक अङ्गीकृतका आधारमा पाँच सय ४९ र प्रतिलिपि १० हजार दुई सय ४१ जनाले लिएको उहाँले बताउनुभयो । अघिल्लो आव २०७७-७८ मा १३ हजार २४ जनाले मात्र नेपाली नागरिकता प्रमाणपत्र लिएका थिए । सो अवधिमा कोभिड-१९ का कारण लामो समय सार्वजनिक सेवा बन्द गर्दा नागरिकतालगायतका कार्यसमेत प्रभावित भएको थियो ।

रु आठ करोडभन्दा बढी राजस्व सङ्कलन    

आर्थिक वर्ष २०७८-७९ मा जिल्ला प्रशासन झापाबाट ११ हजार सात सय ४६ जनालाई राहदानी वितरण गरिएको छ । जसबाट मात्र रु आठ करोड ६५ लाख १५ हजार पाँच सय राजस्व सङ्कलन भएको सहायक प्रजिअ न्यौपानेको भनाइ छ । उहाँका अनुसार सोही अवधिमा कार्यालयमा ७४ वटा सङ्घसंस्था दर्ता, पाँच सय ६३ संस्था नवीकरण, नाबालक परिचयपत्र तीन सय ४१ वटा वितरण गरिएको छ ।

असार मसान्तसम्ममा प्रशासनले राहदानी शुल्क, प्रशासनिक दण्ड जरिवाना, सेवा शुल्क, हातहतियार नवीकरण शुल्क, सम्पत्ति बिक्रीवापत रु नौ करोड एक लाख ९२ हजार एक सय ९२ राजस्व सङ्कलन गरेको छ । अघिल्लो आव २०७७-७८ को सोही अवधिमा छ हजार एक सय ८८ जनालाई मात्र राहदानी वितरण गरिएको थियो । रासस

Facebook Comments