Sun. May 19th, 2024

दुई घण्टामै ३४ अंकले घट्यो नेप्से

काठमाण्डौं, २०७९ असार २४ गते शुक्रबार । साताको अन्तिम कारोबार दिन शुक्रबार पनि सेयर बजारमा ठूलो गिरावट आएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार शुक्रबार सेयर कारोबार मापक नेप्से परिसूचक ३४.७१ अंकले घटेर १९९२.६१ विन्दुमा झरेको छ । यो घटाइ १.७१ प्रतिशत हो । सेन्सेटिभ परिसूचक पनि ५.६१ अंकले घटेर ३७९.८८ विन्दुमा आइपुगेको छ ।

शुक्रबार कूल २१७ वटा कम्पनीको ३० लाख ६३ हजार ४ सय ५३ कित्ता सेयर खरिदबिक्री भएको थियो । यसबाट कूल एक अर्ब १६ करोड ८४ लाख ४२ हजार ४ सय ४४ रूपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

कारोबार भएका कूल १३ उपसमूहमध्ये शुक्रबार सबै वटा उपसमूहको सेयर घटेको छ । सबैभन्दा धेरै होटल तथा पर्यटन समूह घटेको छ ।

शुक्रबार कारोबार रकममा शिवम् सिमेन्टले अग्रता कायम गरेको छ । कम्पनीको ५ करोड ५९ लाख ८३ हजार रूपैयाँ बराबरको कारोबार भएको छ ।

शुक्रबारको कारोबार स्थिति हेर्दा यतिबेला लगानीकर्ताहरू पर्ख र हेरको अवस्थामा देखिएका बुझ्न सकिन्छ। नेपाल राष्ट बैंकले असार मसान्तभित्र नयाँ मौद्रिक नीति ल्याउने तयारी गरेकोले लगानीकर्ताहरू त्यसैलाई कुर्दै बसिरहेका छन् । मौद्रिक नीतिमा केही नीतिगत परिवर्तन हुनसक्ने कुराले अहिले लगानीकर्ताहरूले यही गर्ने भनेर ठोस निर्णय लिन नसकेको अवस्था बजारमा देखिएको छ ।

लगानीकर्ताहरुले शुक्रबार पनि बजार खोलिएका कारण समेत बजार घट्नमा मद्धत पुगेको दाबी गरेका छन् । उनीहरुले हप्ताको पाँच दिन मात्र बजार खोल्न पनि नेप्सेसँग माग गरेका छन् ।

Facebook Comments